तिमीसँग नजिक भएर खै कुन पाप गरेँ

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७२, सोमबार

काठमाडौं । लामो समय अघिदेखि साहित्यिक कर्ममा लागि परेका लमजुङका संचारकर्मी एवम् प्राध्यापक किरण बरालको पहिलो आधुनिक गीतहरुको संग्रह ‘सार्थक’ भित्र समेटिएको ‘तिमी संग नजिक भएर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वरमा समेटिएको उक्त गीतमा बी.बी अनुरागीले संगीत दिएका छन् ।
काठमाडौंको बिभिन्न मनोरम स्थलमा छायाँकन गरिएको यस गीतको भिडियोमा अहिलेका चर्चित मोडल निराजन प्रधान र बेनिसा हमालले अभिनय गरेका छन् । हरि हँुमागाईको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको उक्त भिडियोमा गीतको भाव अनुसारको विषयवस्तुलाई आकर्षक ढंगबाट निर्देशक बिशाल भण्डारीले प्रस्तुत गरेका छन् ।

timeline (1)
लामो समयदेखि गीत अनि गजल सिर्जनाका अलवा नाटक लेखन निर्देशन, रेडियो कार्यक्रम संचालन, स्तम्भ लेखन, प्राध्यापन र बैंकिङ पेशामा समेत आबद्ध सर्जक बरालको यो गीतको म्युजिक भिडियोले छोटो समयमा नै यु ट्युवमा उल्लेख्य संख्यामा दर्शकहरुको माया पाइरहेको छ । एशियन म्युजिकले बजारमा ल्याएको उक्त एल्बम छिट्टै सार्वजनिक हुने सर्जक वरालले जानकारी दिएका छन् ।
उक्त एल्बममा स्वरुपराज आचार्य लगायत अहिलेका चर्चित सांगीतिक हस्तीहरु शिशिर योगी, अन्जु पन्त, दिनेश गौतम, बिमल पराजुलीको सुमधुर स्वर समेटिएको छ भने संगीत बी.बी. अनुरागी, दिपक शर्मा, शिशिर योगी, पुस्तक प्रसाद र बिमल पराजुलीको रहेको छ । एल्बम सार्थक भित्र समेटिएका सबै गीतमा सर्जक किरण बरालको एकल शब्द रचना रहेको छ ।
सर्जक किरण वरालकी ममतामयी आमा स्वर्गीय राधा वरालको स्मृतीमा बजारमा आउन लागेको यस एल्बमका सम्पुर्ण गीतहरुको रेकर्डिङ लगायतका प्राबिधिक कामहरु पुरा भइसकेको र छिट्टै नै एल्बम सार्वजनिक गरिने कुरा एल्बमकी कार्यकारी निर्माता रश्मी वराल (घिमिरे)ले दिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु