तीन महिना नपुग्दै किन दिए लम्सालले राजिनामा ?

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७३, शनिबार

नेपाली लेखक संघबाट गत बैशाख १८ र १९ गते भएको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएर आएका डा.नवराज लम्सालले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनको राजिनामापछि लेखक संघभित्र विवादको श्रृंखला उब्जिएको प्रष्ट देखिन्छ । उनले पुरानो कार्यसमितिले आफूलाई कुनै पनि कागजपत्र नबुझएको, लेखापरीक्षण प्राप्त नभएको जसका कारण काम गर्न असहज परिस्थिति आइपरेको लगायतका विभिन्न समस्याका कारण राजिनामा दिनु परेको बताएका छन् । राजिनामा बुझइसकेपछि उनले फेसबकुमा जस्ताको तस्तै आफ्नो राजिनामालाई पोष्ट गरेका छन् । उनको राजिनामालाई लिएर फेसबुकमा विभिन्न प्रतिक्रिया प्राप्त भएको छ । तर राजिनामा नै समस्याको समाधान भने पक्कै थिएन होला किनकी उनी आधिकारिक रुपमा अध्यक्षजस्तो पदमा आइसकेपछि कानूनी प्रक्रिया अबलम्वन गर्न पनि प्रशस्त बाटो थियो होला । तैपनि संघको आन्तरिक विवादभित्र लम्सालको राजिनामा आएको भने पक्कै हो ।

nabaraj lamsal

लम्सालले दिएको राजिनामा पत्र जस्ताको तस्तै

श्री केन्द्रीय समिति
नेपाली लेखक संघ
काठमाडौँ ।

विषय ः राजीनामा सम्बन्धमा ।

२०७३ वैशाख १८ र १९ गते काठमाडाँैमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नेपाली लेखक संघको वर्तमान केन्द्रीय समितिसँगै म केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएको हुँ । महाधिवेशन केवल नेतृत्व छनौट मात्र हैन र महाधिवेशन मार्फत संघको नीति, निर्देशन तथा कार्यहरूको प्रष्ट निर्देश हुन्छ भन्ने कुरा संघकै विधानको परिच्छेद ४ को दफा १४ मा प्रष्ट उल्लेख छ ।
राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि अधिवेशनका प्रतिनिधिहरूको हस्ताक्षर सहित त्यहाँ गरिएका निर्णयहरू संघका वैधानिक सम्पत्ति हुन् । त्यही निर्णय र दस्तावेजका आधारमा परिच्छेद ९ दफा २९ बमोजिम संशोधित विधान प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिई लागु गरिने हो । लेखापरीक्षण लगायत अन्य आन्तरिक व्यवस्था र परिचालनका लागि समेत महाधिवेशनका दस्तावेज मार्गदर्शन र आधार पनि हो । संगठन भावनात्मक र कोरा सैद्धान्तिक कुरा मात्र नभएर प्राविधिक, कानुनी र प्रक्रियागत कुरा पनि हो ।
तर, २०७३ वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय महाधिवेशनका कुनै पनि दस्तावेज निवर्तमान कार्य समितिबाट वर्तमान कार्यसमितिलाई आजसम्म प्राप्त भएन । पटक पटक कोशिश गर्दा पनि प्राप्त भएन÷हुन सकेन । आफैँ र आफ्नै केन्दीय समिति निर्वाचित भएको ऐतिहासिक अधिवेशनको सम्पूर्ण दस्तावेज आफ्नै नैतिक बलको जग हो । त्यो जग नहुँदा संशोधित विधान प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत गराउन, संघको दर्ता नवीकरण गर्न, बैँक खाता सञ्चालन तथा लेखापरीक्षण लगायतका व्यावहारिक काम गर्न समेत यसबाट बाधा उत्पन्न भएको छ र अधिवेशनले पारित गरेको विधान समेत आजसम्म स्वीकृत गराउन पाइएको छैन ।
आफू निर्वाचित भएको राष्ट्रिय महाधिवेशनका दस्तावेज नै नहुनु र तिनैका आधारमा गरिने वैधानिक प्रक्रिया अबरुद्ध हुनुले संस्थामा मात्र हैन म आफैँमा पनि नैतिक अवरोध आएको छ । प्रतिनिधिहरूको हस्ताक्षर सहितको महत्वपूर्ण दस्तावेज विना सम्पदन गरिने कानुनी कार्य स्वतः नक्कली र ढाकछोपको काम हुनेछ । नेपाली लेखक संघजस्तो प्राज्ञिक, नैतिक र सिर्जनशील संघका आन्तरिक जीवनको संगठन पद्धति नै ढाकछोप र नक्कली सहीभर्पाइका आधारमा अघि बढाउनु प्राज्ञिक मर्यादाको धब्बा हुने छ । लेखनको आदर्श र मर्यादामार्फत समाजलाई नैतिकता सिकाउने संस्थामा रही नक्कली काम गर्नुभन्दा नयाँ प्रक्रिया र वैधानिकताका लागि मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगी संघको विधान परिच्छेद नौ को दफा ३० बमोजिम यस सम्मानित केन्द्रीय कार्य समिति समक्ष आज मिति २०७३ साउन ७ गतेदेखि नै लागु हुने गरी राजीनामा पेश गरेको छु । मेरो राजीनामा पछि संघको विधान परिच्छेद ४ को दफा ११.१.क अनुसार विशेष साधारण सभाद्वारा वा अन्य वैकल्पिक वैधानिक व्यवस्थाद्वारा नयाँ निकासका लागि बाटो खुल्ने समेत विश्वास लिएको छु ।
साथै यस बीचको छोटो समयमा कर्णालीदेखि इलामसम्म आधा दर्जनभन्दा बढी विविध सार्थक कार्यक्रमहरूको आयोजना गर्न, विधिवतरूपमा केन्द्रीय कार्यालय खोल्न र विषयनिष्ट बहस र अन्तक्र्रिया प्रारम्भ गर्न सघाउने विभिन्न जिल्ला समिति तथा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई हार्दिक धन्यवाद दिँदै साधारण सदस्यका रूपमा यस ऐतिहासिक र गरिमामय संघको उन्नति, प्रगति र सिर्जनात्मक श्रीवृद्धिका लागि आफू सदा क्रियाशील रहने विश्वास फेरि एक पटक दोहो¥याउन चाहन्छु ।

डा.नवराज लम्साल
अध्यक्ष
नेपाली लेखक संघ
जानकारीका लागि
१. वरिष्ठ उपाध्यक्ष
श्री श्रवण मुकारुङ
२. महासचिव
श्री रत्नमणि नेपाल
३. कोषाध्यक्ष
सन्ध्या पहाडी
४. निवर्तमान अध्यक्ष
डा. विष्णुविभु घिमिरे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु