दशैंमा श्रीमान् नआउने भएपछि…(भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७१, बिहीबार

शिवकुमार काशी, मकवानपुर, असोज १

मकवानपुरका लोकलय संकलन तथा गायक बुद्धिमान घिसिङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केहीदिन अघि मनहरीमा छायाँङ्कन गरिएको ‘आउने
दशैं नि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । विभिन्न टेलिभिजनमा घन्किरहेको विरहको भाकाको दशैंसम्बन्धी गीतलाई युट्यूवमा समेत हेर्न सकिन्छ ।
खासगरी चाडपर्व नजिकिँदै गर्दा विदेशमा रहेका नेपाली दाजुभाईका कारण घरपरिवारमा हुने पीर चिन्तालाई भिडियोमा उतारिएको छ । भिडियोमा अधिकाँश दृष्य मनहरीकै देखाइएको छ भने केही दृष्य वैदेशिक रोजगारीको सन्दर्भमा साउदीको देखाइएको छ ।
गीतमा स्वदेश रहेकी प्यारीले भन्छिन्–
कहिले सम्म आइपुग्छौ घर
लहलह भइसक्यो जमरा
आउने दशै नि …..
आउने दशै नि भेट हुन्छ कि भन्ने आश गरेथ्यो म¥यो आशै नि
परदेशबाट श्रीमानको जबाफ यसरी आउँछ–
नबसे है भेट हुने आशैमा
पाइन छुट्टी अहिलेको दशैंमा
आउने दशै नि
आउने दशै नि भेट हुन्छ कि भन्ने आश गरेथ्यो  म¥यो आशै नि ।

3

श्रीमानको भूमिकामा गायक तथा लय संकलक घिसिङ आफैले भिडियोमा अभिनय गरेका छन् भने श्रीमतीको भूमिकामा गीता राईले शसक्त अभिनय गरेकी छिन् । उनीहरुलाई साथ दिएका घिसिङका छोरा आशिषले । भिडियोमा बुद्धिमानको घरको वातावरण देखाइएको छ । छिमेकमा लाहूरबाट दशैंमा घर फर्किसक्दा पनि आफ्ना श्रीमान चाहिँ अझै नआएको व्यथा भिडियोमा बल्झाइएको छ । जहाँ आशिषले पटक पटक आफ्ना बढेको जमरा देखाउँदै हाम्रा बाबु कहिले आउनुहुन्छ भनेर सोधेका हुन्छन् । र, आमाको भूमिका निर्वाह गरेकी राईले मोबाइलबाटै श्रीमानसँग छोरालाई जोडिदिन्छिन् ।
गरिवीले बैँकबाट ऋण लिएर विदेश गएका श्रीमानले बाध्यताले दशैंमा आउन नपाएको छटपटी भिडियोमा पोखिएको छ । भिडियोमा अघिल्ला दशैंहरुमा सँगै बसेर दशैंको टिका र जमरा लगाएको, केरा खाएको, पीङ खेलेको लगायतका दृष्यहरुलाई सम्झना स्वरुप हालिएको छ । श्रीमान–श्रीमती सँगै जंगलमा घाँस काट्दा श्रीमानको हात खुर्पाले काटेपछि श्रीमतीले आफ्नो धोती च्यातेर बाँधिदिएको दृष्यले पनि भावुकता जगाउँछ ।
परदेशको पीडा र चाडपर्वमा आफन्त नहुँदा घरमा देखिने अशान्ति र चिन्तालाई भिडियोमा ढालेका हुन् चर्चित निर्देशक शंक बिसीले । उनी केहीदिनअघि आफ्नो युनिटसहित मनहरी–४ सिमपानीस्थित घिसिङको घरमा आएका थिए । मनहरीमा रहेको बैँक, मेडिकल लगायत स्थानहरुमा छायांकन गरिएपछि घिसिङको घर सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा छायांकन भएको थियो । छायांकनका क्रममा नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, गायक सुन्दर लामा, राजेन्द्र घिसिङसहितका कलाकारहरु सहभागी थिए । निर्देशक बिसीले छायांकनकै क्रममा भनेका थिए, ‘घिसिङजीको सिर्जनालाई भिडियोमा चरितार्थ गर्न मैले निकै मिहेनत गरेको छु ।

1
कृष्ण फिल्मस् प्रालिले निर्माण गरेको गीत घिसिङ र बिनु लामाले गाएका हुन् । गीतको सीआरबीटी ०१३००४६७९९ र पीआरबीटी ६०४५२९७६ रहेको छ । यसअघि घिसिङले छुट्टिमा घर आको नामक एल्बम सार्वजनिक गरेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा बसेर फर्केका घिसिङ स्वदेश तथा विदेश जहाँ रहेपनि लोक गीतसंगीतमा निकै चाख राख्छन् । भन्छन्, ‘यो क्षेत्रको विकासमा हामी सबैले योगदान गर्न जरुरी छ ।’ दशैंमा आफ्नो गीतले निकै चर्चा पाउने अपेक्षा पनि उनले गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु