दिपक र दिपीकाको रोमान्सलाई दिपाश्रीले एक्सन कट गर्ने !

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७५, बुधबार

काठमाडौं, १२ बैशाख । लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेको ‘छक्का पञ्जा ३’ को टोलीले अन्ततः अभिनेत्री फाइनल गरेको छ । सिनेमा ‘ऐश्वर्य’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईँ सिनेमाका लागि फाइनल भएकी छिन् ।

निर्माण पक्षसँग अभिनेत्री प्रसाईँको सिनेमाका लागि आधिकारिक सम्झौता भएको छ । दीपिका फाइनल भएसँगै अब ‘छक्का पञ्जा ३’का सबै कलाकारहरु लगभग फाइनल भएका छन् ।

 


सिनेमामा अर्की अभिनेत्रीको रुपमा प्रियंका कार्की नै रहने छिन् । सिनेमाका मुख्य अभिनेता रहने दीपकराज गिरीको जोडीको रुपमा प्रियंका र दीपिका मध्ये को प्रस्तुत हुने हो त्यो भने अहिले नै भन्न सकिँदैन् ।

यसका अलावा सिनेमामा केदार घिमिरे, जितु नेपाल, निर शाह, अनुरागमान सिंह कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । पोखरा र दमौलीमा खिचिने फिल्मको छायाँकारमा पुरुषोत्तम प्रधान छन् ।

सिनेमामा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । दशैंको फूलपातीमा प्रदर्शनमा ल्याउने गरि यस फिल्मको बैशाख १७ गतेबाट छायांकन सुरु हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु