दुबै मृगौला फेल भएका पत्रकार तेजकुमारलाई आर्थिक सहयोग

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७४, बिहीबार

२८ मंसिर, काठमाडौं । दुवै मृगौला फेल भएर डाइलोसिस गराइरहेका पत्रकार तेजकुमार श्रेष्ठलाई इन्द्रेणी कार्यक्रमले सहयोग गरेको छ । इन्द्रेणीका संचालक कृष्ण कँडेलले सामाखुशी स्थित मगर हाउसमा इन्द्रेणी कार्यक्रममार्फत् पत्रकार श्रेष्ठलाई दुई लाख पचास हजार भन्दा बढी रकम हस्तान्तरण गरेका छन् । विगत लामो समयदेखि मृगौला फेल भएर उपचार गराइरहेका तेजकुमार श्रेष्ठलाई इन्द्रेणी कार्यक्रम हेरेर विदेशबाट रकम पठाइएको रकमलाई संकलित गरेर कँडेलले उक्त रकम हस्तान्तरण गरेका थिए ।


साझा प्रकाशनमा करिब ३० वर्ष सेवा गरिसकेका पत्रकार तेजकुमार श्रेष्ठ अन्नपूर्ण पोष्टको वरिष्ठ उपसम्पादक भएर कार्यरत रहेका थिए । साझा प्रकाशन घाटामा गएपछि जागिर गुमाएका श्रेष्ठ साहित्यको क्षेत्रमा क्रियाशील थिए । उनको दुबै मृगौला फेल भएपछि परिवारले पनि सहयोग नगरपछि उनको अवस्था झन् नाजुक बन्दै गएको छ ।


तनहुँमा जन्मिएर मुलुकको साहित्य र संचारको क्षेत्रमा कार्यरत रहेका श्रेष्ठको आर्थिक अवस्था कमजोर भएको देखेपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको समन्वयमा इन्द्रेणीका संचालक कृष्ण कँडेल पुगेका थिए । कँडेलले इन्द्रेणी कार्यक्रममार्फत् दशैं अगाडि नै उनको उपचारका लागि कार्यक्रम प्रस्तुत गरेको थिए । कार्यक्रम हेरेर विभिन्न देशमा रहनुहुने नेपालीहरुले पठाएको रकम पाएपछि श्रेष्ठले आफ्नो जीवन बचाउन सबैलाई अनुरोध गरेका थिए । अहिले डाइलोसिस गरिरहेका श्रेष्ठको मृगौलाको उपचारका लागि १५ देखि २० लाख खर्च लाग्ने बताइएको छ । अहिले उपचारका लागि करिब ५ लाखभन्दा माथि रकम जुटेको छ । अन्य रकम जुट्ने क्रममा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु