नइ पुरस्कार दश जनालाई

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७०, शनिबार

काठमाडौँ । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० प्रतिभालाई विसं २०७० को नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार जनही रु २० हजार राशिका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।
धर्म संस्कृतिको सम्बद्र्धन, संरक्षण र जागरणमा समर्पित श्री १००८ डा. कृष्णदास महायोगी सिद्धबाबालाई नइ चन्द्रधन पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ । नेपाली भाषा तथा साहित्यको स्तरीय सिर्जनाका निम्ति विजय चालिसेलार्ई नइ ईश्वरबल्लभ पुरस्कार र प्रा.डा. कपिल लामिछानेलाई नइ धनरूप पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
त्यसैगरी, नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रताबारेको चिन्तन, विश्लेषण र जागरणका निम्ति प्रमोद प्रधानलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्यको समालोचना लेखनमा महत्वपूर्ण योगदान गरेबापत डा. लक्ष्मणप्रसाद गौतमलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ । साथै नारी स्रष्टाको खोज, अध्ययन र अनुसन्धानमा समर्पित श्रीमती लीला लुईंटेललाई नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । आधुनिक सङ्गीतको महिमा वृद्धि गराउने योगदानका निम्ति जुजुकाजी रञ्जितलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । रामप्रसाद पन्तलाई साहित्य सिर्जना तथा साहित्यिक पत्रकारिताका निम्ति नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यमा सदैव जागरुक अमेरिकाका श्रीमती नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तारमा योगदान पु¥याएबापत तेस्रो लिङ्गी उमेश पाण्डे ‘नरुता’लाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ । यी पुरस्कार आगामी फागुन २२ गते काठमाडौँमा प्रदान गरिने छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु