नयाँ वर्षमा प्रथम नयाँ बसपार्क सडक महोत्सव हुँदै

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७४, आईतवार

२५ चैत, काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क मित्रनगर क्षेत्रमा ‘प्रथम नयाँ बसापार्क सडक महोत्सव’ हुने भएको छ । ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आगामी २०७४ चैत ३० गते र २०७५ बैशाख १ गते हुन गइरहेको सडक महोत्सवको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य लिइएको मूल आयोजक समितिका संयोजक विष्णु पोखरेलले जानकारी दिए ।
२०७२ सालपछि क्षतविक्षत भएको बसपार्क गोंगबु क्षेत्र अब भने सुरक्षित भइसकेको सन्देश दिन र नयाँ बसपार्क क्षेत्रमा असामाजिक क्रियाकलाप हुँदैन सभ्य समाजको निर्माण भइसकेको छ भन्ने सन्देश दिनका लागि पनि यो सडक महोत्सव आयोजना गरिएको संयोजक पोखरेलको दाबी थियो ।

करिब ५ लाख बाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै आयोजना गरिएको यो कार्यक्रम नयाँ बसपार्क मित्रनगरको मूल सडकमा आयोजना हुने बताइएको छ । चैत ३० गते राति १२ बजे नयाँ बसपार्क जाऔं नयाँ वर्ष २०७५को भव्य स्वागत गरौं भन्ने उद्देश्यका साथ हुने यस महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । त्यस्तै नेपाल खानाका परिकारहरुको स्टलदेखि अन्य व्यवसायिक स्टलहरु निर्माण गरिएको छ भने विभिन्न जातजातिका सांस्कृतिक झाँकीले कार्यक्रमलाई स्वागत गरिने आयोजक संस्थाका सचिव भेषराज भट्टराईले जानकारी दिएका थिए ।

महोत्सवमा गायक दीप सागर थापा, मुना थापा, अर्जुन सुनाम, भूमिका गिरी, सविन लामा, डिजे टाटु, प्रकाश कटवाल, रमेश दुलाल, राजा राजेन्द्र, रत्न श्रेष्ठ, कृष्ण प्रुसाईं, किसन गुरुङ, निशा लामा, कुलेन्द्र विक, मिना बुढाथोकी लगायतको कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा एक सयभन्दा बढी व्यवसायिक स्टलहरु रहने संयोजक पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु