नाटक महोत्सवमा रङ्गकर्म र चलचित्रका विषयमा चर्काचर्की

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

पानीघट्टलाई दर्शकको वाह्वाही

रुपिन्द्र प्रभावी,

पोखरा, चैत १३ गते । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा मङ्गलबार नेपाली र रङ्गकर्म र चलचित्रका विषयमा भएको बहसमा चर्काचर्की भएको छ ।

विश्व रङ्गमञ्च दिवसका अवसरमा आयोजित बहरमा निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरिरहँदा कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भन्नुभयो, ‘अब रङ्गमञ्च होस् वा चलचित्र हामीले आफूलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । यथास्थितिवादबाट बाहिर निस्कनुपर्ने भन्दै हाम्रो सोचाइको शैलीमै परिवर्तन ल्याउनुपर्ने सुब्बाको भनाइ थियो ।

कलाकार कार्कीले आफूले चलचित्र पैसाका लागि खेल्ने र रङ्गमञ्चमा काम गर्दा सन्तुष्टि प्राप्त गर्ने बताउनुभयो । उहाँले चलचित्रमा आफ्नोपन भेट्न नसकिने तर रङ्गकर्ममा दालमोठ चिउरा भए पनि पारिवारिक वातावरणमा खाइने भएकाले पनि आफ्नो जस्तो लाग्ने विचार राख्नुभयो । बहसमा सहभागी चलचित्र र रङ्गमञ्चका अध्येता सुवर्ण थापाले प्राकृतिक र यथार्थ अभिनयको महत्त्व नेपाली कलाकारले बुझ्न नसकेको आरोप लगाउनुभयो । नाटक भनेपछि नाटक नै हुनुपर्ने भन्दै सिनेमा र नाटक भनेको भिन्न चिज भएको बताउनुभयो । उहाँले नाटक चाहिँ सिनेमा जस्तो र सिनेमा नाटक जस्तो हुनु बिडम्बना भएको भनाइ राख्नुभयो । प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले रङ्गमञ्च दिवसको सन्देश वाचन गर्नुभएको कार्यक्रमको सहजीकरण डा. सचिन घिमिरेले गर्नुभएको कार्यक्रममा महोत्सवका संयोजक पुष्कर गुरुङले नेपालमा सन् २००० देखि हरेक वर्ष मार्च २७ मा रङ्गमञ्च दिवस मनाउन थालिएको जानकारी दिनुभएको थियो ।

 

यसै बीच, मङ्गलबार मञ्चित मञ्जरी नाट्य समूह, लमजुङकोे प्रस्तुति रहेको नाटक ‘पानीघट्ट’लाई दर्शकले अत्यधिक रुचाएका छन् । पुरु लम्सालको लेखन र निर्देशन रहेको नाटकमा लमजुङको ठाडो भाका र पानीघट्ट संस्कृतिको चित्रण गरिएको छ । युवाहरु विदेसिएकाले गाउँमा लास बोक्न पनि आइमाई र केटाकेटी अघि सर्नुपरको मार्मिक कथाले दर्शकका आँखा रसाएका थिए । गाउँले जीवनका हँस्यौलीले दर्शकले समेत हाँसो रोक्न सकेका थिएनन् । नाटकमा समावेश गरिएको लमजुङे ठाडो भाकालाई दर्शकले पुनः गाउन अनुरोध समेत गरेका थिए । नाटक सकिएपछि दर्शकले बजाएको लामो तालीले पानीघट्टलाई दर्शकले अत्यधिक मन पराएको निष्कर्ष पोखरा थिएटरका अध्यक्ष परिवर्तनले प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा डा. अशोक थापाको १४२ ओटा कृतिका समीक्षा समेटिएको कृति ‘किताबै किताब ः समीक्षा सिद्धान्त र प्रयोग’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपनि सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ, साहित्यकार सरुभक्त र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कृतिमा १२ ओटा समीक्षा नाटककै विषयमा रहेका डा. थापाले जानकारी दिनुभयो ।

 

नै हिमाली सांस्कृतिक परिवारको प्रस्तुतिमा चेतन कार्कीको लेखन र मेनकाजी गुरुङको निर्देशन रहेको ‘नारी शिक्षा’ र सद्भाव थिएटरको प्रस्तुतिमा नरेश भण्डारीको लेखन र टीकाभक्त जिरेलको निर्देशन रहेको ‘चाँदीको घेरा’ पनि मञ्चन गरिएको थियो ।

 

महोत्सवका अन्तिम दिन बुधबार बिहान ८ बजे पोखराको रङ्गमञ्च ः अबको बाटो विषयमा पोखरा थिएटरका अध्यक्ष परिवर्तन, सांसद पियारी थापा, साहित्यकार मन क्षेत्री र युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलबीच पत्रकार वासु मिश्रले बहस चलाउनुहुने छ । दिउँसो १ बजे ओेथेलो नाटक समूह पोखराको प्रस्तुतिमा कृष्ण उदासीको लेखन र आशिष अधिकारीको निर्देशनमा जयगान र ५ बजे लोक सञ्चार जनकपुर र सिल्पी थिएटरको प्रस्तुतिमा रमेशरञ्जन झाको लेखन र घिमिरे युवराजको निर्देशनमा सखी नाटक मञ्चनसँगै महोत्सवको समापन हुने छ । बिहीबार महोत्सवको समीक्षा गरिने महोत्सवका संयोजक पुष्कर गुरुङले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु