नाट्यकर्मी यात्रीलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७०, बुधबार

नेपाली नाटक र रङ्गमञ्चको क्षेत्रमा साँढे दुई दशकदेखि निरन्तर सक्रिय रही यसै क्षेत्रमा विशिष्ट योगदान पु-याए बापत नाटककार, रंगकर्मी एवं प्राज्ञ कृष्ण शाह यात्रीलाई अमेरिकाको विभिन्न स्थानहरुमा सम्मान गरिएको छ ।

नाट्यकर्मी यात्रीले मार्च २ मा अमेरिकाको न्युयोर्कमा आयोजित प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा ‘नेपाली नाटकमा महिला हस्ताक्षर र यसको नेपाली डायोस्पोरामा परेको प्रभाव’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसै समारोहमा उनलाई आयोजक संस्था अन्तराष्ट्रिय साहित्य समाज (अनेसास)ले नाट्य–सम्मान प्रदान गरेको हो । यात्रीले प्राप्त गरेको सम्मान पत्रमा भनिएको छ– “नेपाली नाट्य साहित्य क्षेत्रमा कृष्ण शाह यात्रीले पु-याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो” ।

यसैगरी नाट्यकर्मी यात्रीलाई अमेरिकाको वासिङ्टन डिसीमा सक्रिय चार ओटा विभिन्न कला र साहित्यिक संघसंस्थाले संयुक्त रूपमा सम्मान गरेको छ । मार्च ८ मा मेरिल्याण्डको सिल्भर स्प्रिङमा आयोजित कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठान, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय कलाकार मञ्च र अनेसास डिसी म्याट्रो च्याप्टरले नाट्यकर्मी यात्रीको रंगमञ्चीय योगदानको कदर गर्दे सम्मान गरेको हो ।

यात्रीलाई अमेरिकाका लागि नेपालका कार्यबाहक राजदुत ऋषि घिमिरेले सम्मान–पत्र प्रदान गरेका थिए । सम्मानपत्रमा भनिएको छ, “लामो समयदेखि नेपालको नाटक लेखन, नाट्य तथा साहित्यको क्षेत्रमा कृष्ण शाह यात्रीले पु-याउनु भएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्दै उहाँको योगदानको उच्च कदर गर्दै हाल अमेरिकाको भ्रमणमा रहनु भएको अवसरमा यहाँ अवस्थित चार संस्थाहरुको तर्फबाट यात्रीलाई सम्मान पत्र समर्पण गरिएको छ ।” कार्यक्रममा यात्रीले नेपाली नाटक र रङ्गमञ्चको वर्तमान अवस्थाबारे आफ्नो विचार अभिव्यक्त गरेका थिए ।

मार्च ५ मा अमेरिकाको बोस्टनमा आयोजित ‘सर्जकसँग एक साँझ’ कार्यक्रममा कृष्ण शाह यात्री अथितीका रुपमा सहभागी भएका थिए । उनले कार्यक्रममा नाटकले विश्व रंगमंच खोजिरहेको चर्चा गर्दै बोस्टनका साहित्य सर्जकहरूसँगको विचार आदान प्रदान भएको जनाएका थिए । ‘सिर्जना उत्सव बोस्टन’ले समर्भिलमा आयोजना गरेको कार्यक्रममा यात्रीले नेपाली रङ्गमञ्चका फराकिलो बन्दै गएको पाटोको चर्चा गर्दै भाषा र साहित्यलाई भौगोलिक सीमानाले छेक्न नसक्ने बताएका थिए । यसैगरी मार्च १५ मा न्युरोर्कमा आयोजित ‘सिर्जनाका स्वरहरु’ कार्यक्रममा नाट्यकर्मी यात्रीलाई अतिथीका रुपमा निम्त्याइएको थियो । त्यहाँ यात्रीले अमेरिका बसाईको अनुभूति र नाटकबारे मन्तव्य व्यक्त गर्नुका साथै आफ्नो काव्यनाटक ‘अतिरिक्त यात्रा’को नाट्यांश सुनाएका थिए ।

तीन हप्ते अमेरिकी भ्रमणको क्रममा नाटककार यात्रीले अमेरिकाका सात ओटा स्टेटका विभिन्न स्थान भ्रमण गरि त्यहाँको वस्तुस्थिती र नेपाली डायोस्पोरिक जीवनलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएको बताए । उनले अमेरिकामा साधनारत एवं कार्यरत सयौं नेपाली लेखक र कलाकारहरुसँग कार्यक्रमको सन्दर्भमा भेटघाट भएको जानकारी गराए ।

अमेरिकाको भ्रमण सकेर मार्च १७ मा काठमाडौ आइपुगेका यात्रीलाई अमेरिकी दूतावासले पाँचको सम्मानजनक भिसा उपलब्ध गराएको थियो । यात्री भन्छन्, “अमेरिकाबाट मैले नाटकका लागि नयाँ कथा र पात्रहरु लिएर फर्किएको छु । त्यहाँका नाटकहरु हेर्नुका साथै थुप्रै थिएटर समेत घुम्न गएँ । नेपाली नाटक पनि विश्वस्तरका कुनै पनि नाटकभन्दा कम रहेनछन् । हामीले हाम्रा नाटकहरु अंग्रेजीमा अनुवाद एवं मुलुक बाहिर मञ्चन गर्न सके अझ फराकिलो बन्नेछ” । यात्री अहिले नाटक विषयमा विद्यावारिधी गरिरहेका छन् । उनी नयाँ नाटकसंग्रह ‘निरावण’ यसै महिनामा सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु