नेपाली दोहोरी रनिङ शिल्ड चुम्यो

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७१, आईतवार

काठमाडौं । राजधानीमा भएको अन्तर दोहोरी साँझ स्तरीय रोयल शुज दोहोरी गीत रनिङ शिल्ड नेपाली दोहोरी साँझ बसपार्कले चुमेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा तीन दिनसम्म राजधानीको प्रज्ञा भवनमा चलेको अन्तर दोहोरी साँझ स्तरीय प्रतिस्पर्धामा नेपाली दोहोरी साँझका कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएकै कारण प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेको नेपाली दोहोरीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित रनिङ शिल्ड चुम्न सफल भएको छ । यस दोहोरीले उक्त रनिङ शिल्ड आफ्नो दोहोरी साँझमा ६ महिनासम्म सजाएर राख्ने र त्यसपछि प्रतिष्ठानलाई फिर्ता गर्नेछ ।
त्यस्तै बाग्लुङ कालिका दोहोरी साँझ बसपार्कले दोस्रो स्थान हासिल गर्दै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने लजालु दोहोरी साँझ बिजुलीबजारले तृतीय स्थान हासिल गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।
त्यसैगरी उत्कृष्ट गायकका रुपमा राजु केसी र उत्कृष्ट गायिकामा डिला वि.क.ले सम्मान चुम्न सफल भए भने उत्कृष्ट भेषभुषाको सम्मान मायालु दोहोरी साँझले प्राप्त गर्यो । त्यस्तै कलाकारको अनुशासनमा पुरुषतर्फ रिमझिम दोहोरी साँझका श्रीराम अधिकारीले सम्मान चुम्न सके भने लजालु दोहोरीकी चिनु घर्तीले उत्कृष्ट अनुशासन महिलातर्फको सम्मान चुम्न सफल भइन् ।

folk music4
त्यस्तै ७ हजार ७ सय ७७ रुपैयाँ राशिको पृथ्वी थकाली दोहोरी सम्मानबाट गायिका हरिमाया रायमाझी बुटवल, गायक चिजकुमार गुरुङ, लजालु दोहोरी साँझ र बबिता बानियाँ जेरी छहारी दोहोरी साँझले सम्मानित भए । लोकदोहोरी पारखी पृथ्वी थकालीले आफ्नो व्यक्तिगत तर्फबाट आफूलाई उत्कृष्ट लागेका तीनजना कलाकारलाई यो नगद राशिसहितको सम्मान प्रदान गरेका हुन् ।
अन्तर दोहोरी साँझहरुको यस रनिङ शिल्डमा २७ वटा दोहोरी साँझहरु सहभागी रहेका थिए भने फाइनलमा ७ खेल अर्थात् १४ टिमले प्रतिस्पर्धा गरेका थिए । उक्त अवसरमा विभिन्न संघसंस्था एवं लोकदोहोरी गीत पारखीलाई विभिन्न सम्मान गरिएको थियो ।

folk music6
सोही अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिसहित ७ वटा समन्वय समितिहरुले लोकदोहोरी प्रतिष्ठान कलाकार कल्याणकारी कोषलाई ५१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग प्रदान गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङसहित नारायण रायमाझी, रमेश बिजी, बद्री पराजुली, दुर्गा रायमाझी, रामचन्द्र अर्याल, तेजबहादुर केसी, शर्मिला गुरुङलगायतको टोली निर्णायकमा रहेका थिए । कार्यक्रमको उद्घाटन सत्र प्रतिष्ठानका सचिव रमेश बिजीले संचालन गरेका थिए भने पहिलो दिन प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले दोहोरी खेललाई संचालन गरेका थिए । त्यस्तै दोस्रो र अन्तिम दिन प्रतिष्ठानका उपाध्यक्ष गायक बद्री पंगेनीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले कलाकारको प्रतिभालाई रनिङ शिल्डको माध्यमले अझ प्रोत्साहन गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

folk music13 folk music12 folk music11 folk music10 folk music9 folk music1 folk music16 folk music15 folk music14 folk music8 folk music7 folk music5 folk music3 folk music2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु