नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७४, बिहीबार

६ पुष, काठमाडौं । वरिष्ठ संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्माको निधन भएको छ । शर्माको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा निधन भएको हो ।

झण्डै ९ सय गीतमा संगीत दिनुभएका नेपाल कलाभूषण चन्द्रराज शर्माको जन्म विंस २००० असार २४ गते काठमाडौंको डिल्लिबजारमा शर्माको भएको हो । बुवा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनु भएका चन्द्रराज शर्माले २०२० सालमा भारतको इलाहवादको प्रयाग संगीतबाट संगीतमा प्रभाकर गर्नुभएको हो ।

उहाँलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गर्नुभएको थियो । उहाँले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गर्नुभएका शर्माले नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गर्नु भएको थियो । यस्तै उहाँले श्रीस्वस्थानी र महाकवी देवकोटासहित चलचित्रमा पनि संगीत भर्नुभएको छ ।

शर्माले संगीत भरेको तथा नारायणगोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’ तथा ‘मुटुको हरेक नशा नशामा’, ‘मनमा माया तनमा माया’ सहितका गीत चर्चित छन् । गीतिनाटक मुनामदन, सत्यनाग, क्रसमा टाँगिएको जिन्दगीमा पनि संगीत निर्देशन गर्नुभएको छ ।

उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म पशुपति आर्यघाटमा राखिने बताइएको छ । उहाँको आजै आर्यघाटमा अन्तिम शंस्कार गरिने परिवारका सदस्यले बताएका छन् । शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

म्यूजिक खबर परिवार उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु