न्याय खोज्दै बुद्धिकृष्णका श्रीमती र छोरी

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेले झुक्याएर विहे गरि छोरीसहित बाहिर डेरामा बस्दै आएकी कान्छि श्रीमती मैयाँ लामिछानेले आफू अन्यायमा परेको भन्दै यतिखेर अधिकारका लागि गुहार्न थालेकी छन् । नेपाली सेनाका खरिदारबाट रिटायर्ड भएका गायक लामिछानेले जेठी श्रीमतीबाट छोरा नभएपछि आफू कुमार भन्दै कान्छी श्रीमती विहे गरेको र उनको कोखबाट पनि छोरी भएपछि घरमा नभित्र्याइकन छाडिदिएको सार्वजनिक भएको छ । कान्छी श्रीमती मैयाँ लामिछाने र छोरी सुचित्रा लामिछानेलाई छाडेर जेठी श्रीमतीसँग बस्दै आएका गायक लामिछानेको जेठीतर्फ सात सन्तान छन् । जेठीले लगातार पाँचवटा छोरी पाएपछि छोराका लागि अविवाहित भन्दै उनले मागी विहे गरेको तर घरमा नलगेको कान्छी श्रीमती मैयाँको आरोप छ । पछि जेठीतिर दुईवटा छोरा भएपछि उनले आफ्नो अर्को श्रीमती, छोरी केही पनि नभएको भन्दै आएका थिए ।

बुबा ! के नाजायज छोरी हुँ ?

गायक लामिछानेकी कान्छीतर्फकी छोरी सुचित्राको चिठी पढ्न यो लिंकमा क्लिक गर्नुहोस्

कान्छी श्रीमती मैयाँका अनुसार गायक लामिछानेले विवह गरेर डेरामै राखेको र एक वर्षपछि छोरी सुचित्रा जन्मिने वित्तिकै छाडेर हिंडेको पनि २५ वर्ष भइसकेको छ । त्यो बेलादेखि बुद्धिकृष्णले कान्छी श्रीमती र छोरी सुचित्रालाई भेटेका छैनन् । एकपटक मैयाँले उनको घर खोज्दै पुगे पनि जबर्जस्ती उनलाई घरबाट निकालेको कान्छी श्रीमती मैयाँले आरोप लगाएकी छिन् । मैयाँका अनुसार बुद्धिकृष्ण जेठी श्रीमती दुर्गा लामिछानेसँग भक्तपुरको बागेश्वरीमा रहेको घरमा बस्दै आएका छन् भने मैयाँ र सुचित्रा ललितपुरको नखिपोटमा डेरा गरी बस्छन् ।
भक्तपुरमा श्रीमान् बुद्धिकृष्णको नाममा १६ रोपनी जग्गा र घर हुँदासमेत आफू डेरामा एक्लै बस्नु परेको मैयाँको गुनासो छ । उक्त घर र जग्गाको भोगचलनमा कुनै अधिकार नपाएपछि मैयाँ अधिकार प्राप्तिका लागि कानूनी लँडाईमा उत्रिएकी छिन् ।

buddhikrishna lamichhane

 

लोकगायक बुद्धिकृष्ण लामिछाने

आमाको ज्याला मजदुरीबाट नर्सिङ पढ्दै आएकी छोरी सुचित्रा यतिबेला कानुनी लँडाईबाट अधिकार प्राप्त गरिछाड्ने प्रणकासाथ अघि बढेकी छिन् । सुचित्रा नागरिकता, सर्टिफिकेट लगायतका सबै डकुमेन्टमा गायक बुद्धिकृष्ण लामिछाने बुबा भएको उल्लेख छ ।
कानुनी लडाईंका क्रममा अंश मानाचामल दाबी गर्दै २०६७ सालमा भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्दामा मैयाँ र सुचित्राको जित भइसकेको छ । तर अदालतको पैmसलाअनुसार गायक बुद्धिकृष्णले कुनै पनि कार्यान्वयन नगरेका छैनन् । २०६९ चैतमा हामीले मुद्धा जित्यौँ तर बैंक र फाइनेन्सले अझै जग्गा फुकुवा नगरिदिँदा हामीले न्याय पाएनौँ, सुचित्राले भनिन् ।
कृषि विकास बैंक, कर्मचारी सञ्चयकोष, अमरावती बहुउद्देश्य सहकारी संस्था लगायतले जग्गा फुकुवाका लागि आनाकानी गरिदिँदा थप अन्यायमा परेको मैयाँ बताउछिन् । मैयाँ र सुचित्राले जग्गा फुकुवा गरी पाउँ भनी बैंक र फाइनेन्स विरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७२ साल जेठ २८ गते पुन रिट दायर गरेका छन् । रिटको पहिलो तारिक असार ३१ गते तोकिएको बताइएको छ । अशं नपाएसम्म कानुनी उपचारमा लागिरहने गायक बृद्धिकृष्णका कान्छी श्रीमती मैयाँ र छोरी सुचित्राले बताए । समाजमा प्रतिष्ठित गायकका रुपमा देखिए पनि व्यवहारमा क्रुर रहेका कारण आफूहरु अन्यायमा परेको उनीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु