पुनः मोक्तानकै अध्यक्षतामा सांगीतिक संघ, खर्कबहादुरको ह्याट्रिक, राप्तीका स्रष्टाको बर्चश्व

म्यूजिक खबर
प्रकाशित: २५ कार्तिक २०७४, शनिबार

२५ कार्तिक, २०७४ काठमाडौं । नेपाल सांगीतिक संघको १८ औं साधारणसभाले पुनः मिलन मोक्तानकै अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यसमितिका धेरै सदस्यहरु पुरानै दोहोरिएका छन् भने केही मात्र नयाँ अनुहारको प्रवेश भएको छ । जसमा खर्कबहादुर बुढाले कार्यकालको ह्याट्रिक गर्दै उपाध्यक्ष पदमा निर्विरोध भएका छन् । उपाध्यक्षमा नै शशि शर्मा मजगैंया र महासचिवमा सन्तोष श्रेष्ठले दोस्रो कार्यकाल सुरु गरैका छन् ।


त्यस्तै सचिवमा प्रेम प्रकाश ओली, कोषाध्यक्षमा कविता थापाले पनि दोस्रो कार्यकाल सम्हाल्ने मौका पाएका छन् । त्यसैगरी गायक सिताराम पोखरेल, विमल श्रेष्ठ, अजित घिसिङ, नविन शेर्पा, प्रा.डा. गौरीशंकर मानन्धर, गायिका जुना प्रसाईं, प्राश्ना शाक्य, चन्द्रा चलाउने, निर्देशक विकास घले गुरुङ र संगीतकार विकास चौधरी सदस्य पदमा चुनिएका छन् । सदस्यहरुमा विकास चौधरी र विमल श्रेष्ठले दोस्रो कार्यकाल सम्हाल्ने मौका पाएका हुन् भने अरु सबै नयाँ अनुहार थपिएका हुन् ।


नेपाल सांगीतिक संघको १८ औं साधारणसभाले चयन गरेको नयाँ कार्यसमितिमा भने राप्ती अञ्चलको बर्चश्व रहेको छ । उपाध्यक्षद्वय बुढा र मजगैंया, महासचिव श्रेष्ठ, सचिव ओली, सदस्यहरु चलाउने र गुरुङ राप्ती अञ्चलका रहेका छन् । संस्थाका कानुनी सल्लाहकार रमेश कोइराला, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा र संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको निर्वाचन कमिटिले नयाँ कार्यसमितिको चयन गरेको थियो ।


पुनः नेतृत्वमा आएपछि अध्यक्ष मोक्तानले भाडा तिर्न नसकेको संघलाई आफूले ५ लाख नगद राशि पूँजी भएको संस्थाको रुपमा एक कार्यकालमा बनाइदिएको हुँदा अब आउने कार्यकाल पनि आर्थिक रुपमा सबल बनाउनेतर्फ ध्यान दिने उद्देश्य लिएको बताए । उनले संस्थामा बजेट देखियो भने पक्कै पनि भोलिका दिनमा यो संघमा जो नेतृत्वमा आउँदा पनि भाडा तिर्ने र स्टाफ राख्ने समस्याबाट मुक्ति पाउने बताए । त्यस्तै अब संघले छिट्टै नै विभिन्न स्रष्टाको नाममा सम्मान एवं पुरस्कार प्रदान गर्न गइरहेको पनि उल्लेख गरे । उनले संघलाई अझै मजबुत बनाएर लैजानेमा आफू विश्वस्त रहेको बताएका थिए ।

संघको १८ औं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतका संघ संस्थाका प्रतिनिधि एवं स्रष्टा सर्जकहरुको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले गीतसंगीतको मातृ संस्थाका रुपमा सांगीतिक संघ रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए । म्यूजिक खबर परिवार नयाँ कार्यसमितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु