पूर्वेली लोकगीतलाई धनि बनाउँदै, अन्जु

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७३, मंगलवार

फागुन २४, काठमाण्डौ । नेपालमा गायन क्षेत्रमा सबैभन्दा बढी कलाकार भएको विधा लोक तथा दोहोरी विधा हो । लोक तथा दोहोरीमा पनि पश्चिमेली लोक गीतको बजार ठुलो मानिन्छ । पछिल्लो समयमा गहकिला शब्द तथा मिठास संगीत भएता पनि पुर्वेली लोक गीतको बजार केहि सुस्ताएको पाइन्छ । पूर्वदेखि पश्चिम र देश देखि विदेशसम्म पश्चिमेली लोक गीतको नै डिमाण्ड बढी छ । पुर्वेली लोक सिर्जनामा योगदान पु¥याउनेको संख्या न्युन भएको अवस्थामा सुमधुर स्वरकी धनि गायिका अन्जु गौतमले पूर्वेली लोक गीतलाई धनि बनाउँदै आइरहेकी छिन् ।

संगीतमा लगानी बालुवामा पानि भन्ने भनाई प्रचलित छ, सांगीतिक बजार नियाल्ने हो भने यो चरितार्थ पनि हुन्छ । तथापि नेपाली संगीत प्रतिको लगाव, अनि क्षमता भएकी सुरिलो स्वरकी धनि अन्जु गौतम यहि उद्योगमा समर्पित भएर लागि परिरहेकी छिन् । शिरमा बस्ने फूल हुँ म ओठमा बस्ने लाली भन्ने लोक भाकाको गीतबाट चर्चित बनेकी गायिका अन्जुले सांगीतिक धरातलमा पाइला टेकेको सातौं वर्ष मात्र पुगेको छ । उनले सातौं वर्षको छोटो अन्तरालमा आठौं एल्बम श्रोता समक्ष ल्याइसकेकि छिन् ।

IMG_20161206_092241

मानिसको भविष्य उसको बाल्यकालको चरिचत्रले देखाउँछ भने जस्तै अन्जुका बाल्यकालका गतिवीधिले भविष्यमा गायिका नै बन्ने संकेत गर्ने गर्दथ्यो । उनका बुबा शिक्षक, समाजका सांस्कृतिक गतिवीधिमा अगुवा व्यक्तित्व । ‘सानो छँदा बुबा मादल बजाउने छोरी गीत गाउने’ – अन्जु बाल्यकालतिर फर्किदैं भन्छिन् । यस्तो वातावरणले पनि उनको गायकीमा टेवा पुग्यो, गायिका बन्ने सपना पलायो । त्यसैले त उनी विद्यालय र स्थानिय स्तरमा आयोजित सांस्कृति कार्यक्रमहरुमा भाग लिन्थिन् र पहिलो स्थान ओगट्थिन पनि । त्यतिबेला उनले गाएका पूर्वेली लोकगीतहरु सुन्नेले लोकगीतमै तिम्रो स्वर फिट हुन्छ भनेपछि पूर्वेली लोक गीत गाउन थालेतापनि उनी सबै किसिमको गीत गाउन सक्दछिन् ।

जति बाँचिन्छ संगीतमै समर्पित भएर बाँच्न चाहने अन्जु पुर्वीय कलाकारिताको राजधानी इटहरीमा आयोजित पूर्वाञ्चल व्यापी लोकगीत कम्पिटिसनमा भाग लिनका लागि चर्को घामको प्रवाह नगरि, एक हातले छाता समाएर अर्को हातले साइकलको हेण्डिल समाउँदै १५ किलोमिटरको यात्रा गरेर कम्पिटिसनमा भाग लिन पुगिन् । ‘त्यो यात्रा अनि अडिसन र अडिसन पास भएको पल मेरो मानसपटलमा सँधै ताजा रहनेछ ।’ भन्दै उनले आफ्नो अविष्मरिणय क्षण सुनाइन् । उक्त कम्पिटसिनमा उनले तेश्रो स्थानमा चित्त बुझाउनु परेता पनि बरिष्ठ संगीतज्ञ अम्बर गुरुको हातबाट मायाको चिनो तथा सम्मान र प्रमाणपत्र पाएको क्षणलाई पनि उनी बिर्सन सक्दिनन् ।

20160628_102032-1

७५ वटा भन्दा बढी गीतहरुमा सुमधुर आवाज दिइसकेकी उनलाई पूर्वेली लोक गायिका भनेर चिनीन्छ । तर यो परिचयबाट उनी सन्तुष्ट छैनन् । राष्टिय गायिकाको परिचयबाट स्थापित हुने, अनि यहि क्षेत्रबाट नाम र दाम कमाउने उनको सपना छ । लोक, लोक आधुनिक, लोकपप, तीज र चाड विशेषका कयौं गीतहरु गाएकी उनको स्वरले एकदिन उनी हिट गायिकाको सुचिमा पर्ने पनि निश्चित देखिन्छ । तर यसमा राष्टिय मिडियाहरुको पनि ठुलो हात छ । उनी सम्पूर्ण मिडियालाई अनुरोध गर्दै भन्दछिन् मेरा सिर्जनाहरु पूर्वका एफएम र टेलीभिजनमा माात्र सिमित नबनोस् । मेरा सिर्जनालाई माया गरिदिनोस्, तपाईंको साथ सहयोगले मेरो गायनयात्रामा ठुलो प्रोत्साहन मिल्नेछ । मोफसलमा बस्ने मलाई मिडियाको नजिक हुन के गर्नुपर्छ भन्ने थाहा छैन, तर म मिडियासँग सम्बन्ध राख्न चाहन्छु । उनी पूर्वको इटहरी बस्दै आएकी छिन् । गीतको रेकर्ड गराउन तथा अन्य कामले राजधानी छिर्ने गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु