प्रतिष्ठानको भवन निर्माणका लागि दोहोरी गीत रनिङ सिल्ड

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७३, शुक्रबार

फागुन ६, काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो भवन निर्माणका लागि फागुन १२ देखि १६ सम्म ‘राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड’ आयोजना गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले सम्पूर्ण क्षेत्रबाट प्रतिष्ठानको भवन निर्माणका लागि आयोजना गरिएको रनिङ शिल्डलाई सफल पार्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।
अध्यक्ष पंगेनीले कार्यक्रमको प्रमुख अतिथिको लागि मन्त्रीहरुकोमा धाउँदा कसैले पनि समय नदिएको गुनासो व्यक्त गरेका थिए । नेताहरु विदेश घुम्न जानमा व्यस्त हुन्छन् तर कलासंस्कृतिको लागि आयोजना गरिएको हाम्रो कार्यक्रमलाई भने वेवास्ता गर्ने गर्छन् अध्यक्ष पंगेनी भने– ‘यो वर्ष कृषक वा ड्राइभरलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका छौं किनकी असली लोकदोहोरीका पारखी तीनै हुन् ।’

लोकदोहोरीमा फैलिएको विकृतिलाई प्रतिष्ठानले कारवाही गर्दैन भन्ने प्रश्नमा अध्यक्ष पंगेनीले भने– महोत्सव भइरहेको ठाउँको सुरक्षा निकाय, स्थानीय प्रशासन चाहिँ लोकदोहोरीको नाममा फोहोरी खेल देखाइरहँदा के तमासा हेर्छन् कारवाही गर्ने निकाय त त्यो हो । प्रतिष्ठान त खबरदारी गर्ने, यस्तो विकृतिको काम नगर भन्ने हो, कि सरकारले हामीलाई कारवाही गर्ने अधिकार दिनुप¥यो ।’

lokdohori1

रनिङ शिल्डको बारेमा प्रस्तुत गरिएको प्रेस विज्ञप्ति

प्रेस-विज्ञप्ति


आदरणीय उपस्थित पत्रकार महानुभावहरु ! 

नेपाली लोक संस्कृतिको महत्वपुर्ण पाटो नेपाली लोकदोहोरीगीत संगीतको संरक्षण, सम्वर्दन र प्रवर्द्वनको
अपरिहार्यतालाई महशुस गर्दै पाश्चात्य संगीतको प्रभावले धराशायी बन्ने अवस्थामा पुगिसकेको नेपाली मौलिक गीतसंगीतलाई जिवन्त राख्ने महान उद्देश्य सहित आज भन्दा डेढ दशक अगाडि २०५७ सालमा स्थापित यस राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल , सांगठनिक रुपमा देशव्यापी, विशुद्ध ग़ैर राजनीतिक र मौलिक गीतसंगीतको माध्यमवाट समाजसेवामा समेत समर्पित रहँदै आएको कुरा छर्लङ्ग दिनको घाम जस्तै छ ।
देशमा शुसासन कायम गर्नका लागि भएका जनआन्दोलनहरु हुन या देशलाई परेका विपत्तिहरुमा हामी कैल्यौ विमुख रहेनौ । न त हाम्रा स्वर, सारङ्गी , वाँसुरी र मादलहरु नै चुप रहे । राष्ट्रका उल्लेखनीय परिवर्तन र उपलब्धिहरुमा समेत हाम्रो भौतिक सांस्कृतिक सहभागिता रहेपनि राज्यका तर्फबाट गरिएको वेवास्ता प्रति हामी सदा असन्तुष्टी व्यक्त गर्न वाध्य समेत छौं ।
आदरणीय संचारकर्मी महानुभावहरु,
अब म यस पत्रकार सम्मेलनको औचित्य तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु
मुख्यतया पुरुष र महिला बीचमा नेपाली मौलिक लोकभाकाको प्रयोग गरि मायाप्रीति,सुखदुख, सन्चोबिसन्चो, हाँसोमजाक जस्ता भावानात्मक कुराहरुको लयात्मक प्रस्तुती शैलि नै लोकदोहोरी गीत अथवा खेल हो । बिगतमा दोहोरीगीतमै जितेर घरजम गरि बसेका कतिपय जोडिहरु आजसम्म पनि गाउँघरमा भेटिन्छन । पछिल्लो समय दोहोरीगीत प्रतियोगितालाई परिमार्जित र नियमसंगत तरिकाले यस प्रतिष्ठानले संचालन गर्दै आईरहेको छ ।
फलस्वरुप २०७१ सालमा यस प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माको कार्यकालवाट शुरुवात गरिएको यस अन्तर दोहोरीसाँझ – राष्ट्रिय दोहोरीगीत रनिङ सिल्ड प्रतियोगिता यो बर्ष पनि निरन्तरता दिंदै यहि २०७३ फागुन १२ देखि १६ सम्म काठमाण्डौको भृकुटीभण्डपमा सम्पन्न हुन गईरहेको छ । देशभरिका दोहोरी साँझहरुबाट कम्तिमा ३० समुह सहभागि हुने यस प्रतियोगितामा १ लाख दर्शकको उपस्थिति रहने छ । राजधानी बाहिरबाट आउने समुहलाई आवास सहित भोजनको प्रबन्ध मिलाईने छ । दर्शक प्रवेश टिकट शुल्क मात्र रु ५०/- तय गरिएको यस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख ५ हजार, द्वितीय रु ७५ हजार,तृतिय रु ५० हजार सहित अन्य उत्कृष्ट पुरस्कार सहित सिल्ड मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ । प्रतियोगिता संचालनको आवश्यक खर्च सम्पुर्ण लोकदोहोरी प्रेमी दाताहरु सहित यस कार्यक्रमका मुख्य प्रायोजक golden oak रहेको  छ । प्रतियोगिता निष्पक्ष र विवाद रहित वनाउनको निमित्त यस विधाका अग्रज कलाकार देखि आजको पुस्ता समेत निर्णायक समितिमा रहने छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा कारोबार मिडियाको बिशेष सहयोगी रहने छ भने विभिन्न १७ उपसमितिहरु सहित मुख्य समिति संयोजक अध्यक्ष बद्रि पंगेनी रहने गरि कार्यबिभाजन भै सकेको छ । कार्यक्रमस्थलमा नेपाली मौलिक स्वादिष्ट परिकारहरुका स्टलहरु सहित राष्ट्रका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छन । आमन्त्रित अतिथि , पत्रकार एवं सम्पुर्ण दर्शकहरुलाई व्यवस्थित आसनको ब्यवस्थापन गरिने छ ।
कार्यक्रमको उद्वेश्य
बिगतका कार्यक्रमका उद्वेश्यहरु भन्दा यस बर्षको कार्यक्रमको उद्वेशय अलि फरक किसिमको छ । बिगतमा हामीले कलाकार कल्याणकारीकोष अभिवृद्धिको उद्वेश्य सहित कार्यक्रम सम्पन्न गरेका थियौं भने यो बर्षको हाम्रो उद्वेश्य भनेको हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर भन्ने रहेको छ । आजसम्म भाडाको कोठामा कार्यलय संचालन गर्दै आएका हाम्रो चाहना अब नया आसा बोकी टुसाउन थालेको छ । एउटा आफ्नै भवन होस् ! सानों भएपनि लोक संग्रालय होस् ! लोक गीत संगीतका नय विरुवाहरुको पाठशाला होस ! यस्तै यस्तै सपना बुनेर मितव्ययिता अपनाई केहि बचाउन सकियो भने उद्वेश्य प्राप्तिमा पुग्ने हाम्रो लक्ष रहेको छ । यहाँहरुको साथ र सहयोगको हरपल अपेक्षा गरि रहेका छौं । निम्तो स्वीकार गरि पाल्दिनु भएकोमा आभार व्यक्त गर्दै समाचार सम्प्रेशणमा ठूलो सहयोगको अाशा राखेको छौँ ।
हार्दिक धन्यवाद !
                                                                    अध्यक्ष
                                           राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु