‘प्रेमगीत’ जीवनको एउटा टर्निङ प्वाईन्ट

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७३, शनिबार

सङ्गीतकार अर्जुन पोखरेलको ‘एउटा गीतको कथा’

म यस्तो गीत गाउँछु….arjun pokharel
शब्द ः अर्जुन पोख्रेल
संगीत ः अर्जुन पोख्रेल
स्वर ः अन्जु पन्तरसुगम पोख्रेल
चलचित्र ः प्रेम गीत

त्यो एक रात म एक्लै कोठामा बसेर के–के सोचिरहेको थिएँ । म प्राय एक्लै हुँदा विभिन्न खाले सोचाइमा नै हुन्छुँ । त्यो रात पनि केहि सोचाइमा थिएँ । मेरो दिमागमा ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस’ भन्ने लाईन आयो । डायरीमा यसलाई उतारें । आफैँलाई सुन्दर लागेको यो एक लाईनमा अर्को लाईन मिसाएँ ‘हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्’ । सिर्जना कर्ममै लागेर बाँचेको मान्छे भएर पनि होला म बजारलाई पनि नियालिरहेको हुन्छु । गीतको यो स्थायीको निर्माणपछि मलाई लाग्यो यी शब्दहरुले एउटा भीडको ध्यान खिच्ने छ ।

त्यो समय मैले चलचित्र ‘स्टुपिट मन’का लागि लेखेको त्यो ‘आँखामा आँसु हेरी’ स्रोताको रोजाईमा परेको थियो । म त्यस्तै सबैको मनमा बस्ने अर्को गीत लेख्नु पर्छ भन्नेमा थिएँ । केहि चलचित्रका निर्माता निर्देशकले मलाई आग्रह पनि गर्नु भएको थियो । त्यसैले म माथिको स्थायी लिएर म्यूजिकको सेटमा बसें, त्यसपछि म्यूजिककै धूनमा निर्माण गरें ‘राम्रा राम्रा सपना होस् त्यहाँ, मिठा मिठा विपना होस् त्यहाँ, दुई मुटु एक धड्कन हुन्छ जहाँ जहाँ’ । मैले एक जोडी प्रेमीहरुलाई केन्द्रमा राखेर यो अन्तरा लेखेको हुँ ।

यो गीत मैले सुरुमा अर्कै चलचित्रको लागि लेखेको थिएँ । उक्त चलचित्रको काम कारणवश ढिला भयो । त्यसैले स्टक थियो गीत । एकदिन मेरो अफिसमा प्रेम गीतका निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापा आउनुभयो । उहाँहरुले मलाई हर्मोनियममा गीत गाएर सुनाउन आग्रह गर्नुभयो, हर्मोनियममा झन् धेरै मिठो सुनिएको उहाँहरुको भनाई रह्यो । त्यसपछि यो गीत चलचित्र ‘प्रेम गीत’को शीर्ष गीत बनाउने कुरा भयो ।
फिल्मको कथा अनुसार नै गीतको अन्तिम अन्तरा निर्माण गरें । नत्र आधा थियो । ‘आफ्नै भन्दा प्यारो लाग्दो रैछ तिम्रो जीवन, आफ्नै बशमा कहाँ हुँदो रैछ र यो मन, डुल्छ तिम्रै वरिपरि, घुम्छ तिम्रै वरिपरि, सम्झिएर तिमीलाई घरिघरि’ । यसपछि मलाई गीतको सुरुवातमा पनि ‘हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्को ठाउँमा, हर माया गर्ने जोडीको आफ्नै गीत बनोस्’ राख्दा अझ सुन्दर होला जस्तो लाग्यो त्यहि राखें ।

सुरुमा यो गीतको युगल गायनका बारेमा हाम्रो सोच थिएन । सुगम पोख्रेलका लागि तयार पारिएको यो गीतले प्रेम स्थापित गर्नकै लागि अन्जुजीको आवाज पनि खोजे जस्तो लाग्यो । दुबै जनाले निकै राम्रो गाउनु भयो । म्यूजिसियन स्टुडियोमा रेकर्ड भएको यो गीत रेकर्डकै क्रममा त्यहाँ सुन्नेले फरक खालको गीत छ, हिट हुन्छ भन्ने अनुमान लगाउनु भएको थियो । मलाई त हिजोका भन्दा आजका सिर्जना अझैं अब्बल र लोकप्रिय बनुन् भन्ने लाग्छ नै र त्यहि अनुसार गीत सिर्जना गर्ने गरेको छु । अन्जुजी र सुगमजीले यति धेरै मेहनत गरेर गीत गाउनु भयो, उहाँहरुको मेहनतले स्रोताको मन राम्रैसँग खिच्यो । यो गीतमा अभिनय गर्ने पूजा र प्रदिपले पनि निकै राम्रो मेहनत गर्नु भयो । गीतको भिडियोलाई राम्रो बनाउन धेरै लगानी गर्नु भएको छ निर्माताले । सबैको मेहनतले गर्दा नै होला गीत छोटो समयमा निक्कै हिट भयो । यो गीत मेरो सांगीतिक जीवनको एउटा टर्निङ प्वाइन्ट बन्न सफल भएको छ ।

हुन त मैले प्रेम गीतबाट नै यस वर्ष ७ वटा अवार्ड चुम्न सफल भएँ । लगातार मुलुकभित्र भएका ७ वटा अवार्ड चुमिसकेपछि मलाई अझ जिम्मेवारी बोध गराएको छ । मैले नेपाली सांगीतिक क्षेत्रमा धेरै काम गर्नुपर्ने कर्तव्यबोध अवार्डहरुले गराए । एनएफडीसी राष्ट्रिय चलचित्र अवार्ड, पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड, डि सिने अवार्ड, इनास अवार्ड, एलजी फिल्म अवार्ड, विन्ध्यवासिनी म्यूजिक अवार्ड, हिट् म्यूजिक अवार्ड जस्ता मुलुकका चर्चित अवार्डहरु प्रेमगीतकै कारण मैले चुम्ने अवसर पाएँ । यसले पनि मलाई चर्चा मात्र होइन जिम्मेवारीवोध गराएको छ ।

– राधिका अधिकारीसँगको कुराकानीमा आधारित

म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु