प्रेमध्वजको प्रेमगीत र रुपको सानु एकैसाथ

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७४, आईतवार

१८ भाद्र २०७४, काठमाडौं । उमेरले ८२ पुगे पनि गायनमा उत्तिकै जोशिला अग्रज गायक एवं संगीतकार प्रेमध्वज प्रधानले आफ्नो नयाँ गीतिसंग्रह ‘प्रेमगीत’ बजारमा ल्याएका छन् । उनको यो गीतिसंग्रहको भाद्र १५ गते राजधानीमा एक समारोहबीच प्रधानका समकक्षीसहित पछिल्ला पुस्तासम्मले संयुक्त विमोचन गरे ।


गायक प्रधानसहित संगीतकार दीपक जंगम, शक्तिबल्लभ, वसन्त सापकोटा, गीतकार रत्नशमशेर थापा, किरण खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा, विश्वबल्लभ, चूडामणि देवकोटा, गायक दीप श्रेष्ठ, बद्री पंगेनी, रूपक डोटेल, बिन्ध्यवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मीलगायतले संयुक्त विमोचन गरे । सोही कार्यक्रममा गायक रूपक डोटेलको स्वरबद्ध चौथो गीतिसंग्रह ‘सानु’को पनि संयुक्त विमोचन गरियो । यी दुवै संग्रहलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । विमोचन समारोहमा प्रेमगीतबाट एउटा र सानुबाट तीनवटा म्युभिज भिडियो पनि सार्वजनिक गरियो ।


अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गीतकार दिनेश अधिकारीले ८२ वर्षको उमेरमा तन्नेरी जोशले प्रेम भावका गीत गाएर संग्रह ल्याएका प्रेमध्वजले उमेरले सिर्जनालाई छेक्दैन भनेर देखाइदिएको बताए ।
गीतकार रत्नशमशेर थापाले यो उमेरमा प्रेमध्वजले गाएको प्रेम भावका गीत पनि उत्कृष्ट रहेको र नयाँ संग्रहमा आफ्नो पनि एउटा गीत भएको बताए । उनले प्रेमध्वज प्रधान र माणिक रत्नसँग आफूले पाँच दशकअघि काम गर्दाका अनुभव सुनाउँदै प्रेम भावका गीत गाउनेमा प्रेमध्वज अब्बल रहेका बताए ।


प्रेमध्वजको प्रेमगीतमा नौवटा गीत रहेका छन् । ती सबै गीतमा प्रेमध्वजकै एकल स्वर र संगीत रहेको छ । ती गीतको रचना रत्नशमशेर थापा, गौरी नेवा, दिवंगत डा. राममान तृषित, प्रेमबिनोद नन्दन, नरेन्द्रराज प्रसाईं र वासुदेव रिमालले गरेका हुन् । संग्रहमा रहेका जीवन फूल‘, छरिदियो केस, बिन्ती छ‘, हाम्रा लागि‘, फूल पनि‘, सम्झिएर‘, मायालुका‘,आउ हामी‘, दुखाइ यो‘बोलका गीत छन् । रूपक डोटेलको चौथो गीतिसंग्रह सानुभित्र पाँचवटा गीत छन् । जसमध्ये चारवटा गीत वसन्त सापकोटाले र एउटा गीत गिरिजागुगल अधिकारीले लेखेका हुन् । सबै गीतको संगीत वसन्तले नै सिर्जना गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु