फिल्मीखबर अवार्डको उत्कृष्ट पाँचलाई प्रमाण पत्र

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७१, शुक्रबार

काठमाडौं । ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड २०७१’को उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीलाई प्रमाण पत्र वितरण गरिएको छ । प्रमाण वितरणसँगै ओफा अवार्डको दोश्रो संस्करणमा स्व. निर्देशक शिव रेग्मीलाई लाइफटाईम अचिभमेन्ट अवार्ड दिइने समेत घोषणा गरियो ।

ओफाको पहिलो संस्करणमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘हाँस्य सम्राट’को उपाधिले सम्मान गरिएको थियो । यस बर्ष निर्देशक रेग्मीले फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ अर्न्तगत मरणोपरान्त सम्मान दिईने ओफाका निर्देशक सुरेश दर्पण पोखरेलले बताए ।

फिल्मीखबर डट कमको छैठौं बार्षिकोत्सवको अवसर पारेर यही जेठ २६ गते कमलादीको प्रज्ञा भवन प्रतिष्ठानमा साँझ ३ बजेदेखि आयोजना हुने ओफा अवार्डमा विभिन्न १७ विधामा अवार्ड वितरण गरिदैछ । यी विधासँगै क्रिटिक्स अवार्ड र उत्कृष्ट एक हललाईलाई पनि सम्मान गरिनेछ । न्यूज २४ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ओफा अवार्डमा विभिन्न आकर्षक प्रस्तुती रहनेछन् ।

 


‘नाईं नभन्नू २’ को बाल जोडी अनुभव रेग्मी र सुज्ञानी भट्टराई, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता यशराज गराच तथा अभिनेत्री प्रियंका कार्कीको आकर्षक नृत्यलाई ओफामा देख्न सकिनेछ । मिन्स्कले प्रायोजन गरेको ओफा अवार्डलाई काठमाण्डौं तथा मोफसलका रेडियो स्टेशनले प्रत्यक्ष प्रशारण गर्नेछन् । ओफा अवार्डलाई हेल्दी होम र सुवास इन्टरटेन्मेन्टले प्रायोजनमा सहयोग पुर्याएको छ ।

 

ओफा प्रमुख सुमन गैरेले यो अवार्डलाई निरञ्तरता दिने बताउँदै अवार्डलाई सहयोग तथा साथ दिने सबैलाई कृतज्ञ व्यक्त गरे । प्रमुख अतिथि करिश्मा मानन्धरले ओफा अवार्डको निरञ्तरताको कामना गरिन् । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राई, विकास बोर्डका सदस्य राजेन्द्र केसी, एफडी कम्पनीका प्रमुख प्रदीप उदय लगायतले ओफाको सफलताको कामना गरे ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु