फुसको घरमा बस्दै आएका मुसहरलाई धुर्मुस सुन्तलीले गरे पक्की घर हस्तान्तरण !

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७४, मंगलवार

काठमाडौं, २३ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा निर्माण गरेको एकीकृत नमुना सन्तपुर बस्तीको आज हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले रिबन काटेर बस्तीको उद्घाटन गरिन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय लगायतका कलाकारहरुको कार्यक्रममा उपस्थीती रहेको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनले एकिकृत बस्ती निर्माण गरिदिएपछि भुसको घरमा बस्दै आएका विपन्न मुसहरहरुले पक्की घरमा बस्न पाउने भएका छन् ।

रौतहटको सन्तपुर दलित बस्तीमा तिन पुस्ता जीवन बिताएकी रामकलिदेवी हजराले सपनामा पनि आफू पक्की घरमा बस्ने सोचेकी थिइनन । एक सय सात वर्ष की रामकलिदेवी को जीवन अभाव र दुखमै बितेको थियो । तर रामकली देवी हजरासँगै ४७ गरिब परिवारको जीवन अब भने फेरिने भएको छ । धुर्मस सुन्तली फाउण्डेसनले दुई तल्ले चिटिक्कको घर बनाइदिएपछि उनीहरुको अवस्था फेरिन लागेको हो । रामकली देवीलाई अहिले देउताले आफ्नो दुखका दिन अब समाप्त गरि दिएको जस्तो अनुभव भएको छ ।

वर्षामा चुहिने, बाढी आउदा भाग्नु पर्ने र गर्मीमा बस्नै नसक्ने झुपडीमा जिन्दगी बिताएका सन्तपुरमाका विपन्न मुसहरको गत साउनमा आएको विनाशकारी बाढीले छाप्रो पनि बगायो ।  बाढीकै बेला राहत लिएर यो बस्तीमा छिरेका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले मुसहरहरुको विजोग देखेर उनीहरुका लागी सुविधा सम्पन्न एकिकृत नमुना बस्ती बसाउने बाचा गरेका थिए । सोही बाचा अनुसार अहिले  ४७ गरिब परिवारको जीवन अब फेरिएको छ ।

अहिले धुर्मस सुन्तली फाउण्डेसनले बनाइ दिएको दुई तल्ले चिटिक्क परेको घर देख्दा मुसहरहरु हर्ष विभोर भएका छन ।

फाउन्डेसनको चौथो परियोजना अन्तर्गतको बस्तीमा एक सामुदायिक भवन, मन्दिर, धारा, सार्वजनिक शौचालय, आधारभूत तहको स्कुल लगायतको संरचना बनाएको छ । यहाँ भ्यु टावरका साथै बगैंचा पनि निर्माण गरिएको छ ।

बस्ती हस्तान्तरण कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफ् पदमा भन्दा पनि धेरै काममा रमाउने बताएका थिए । उनले दुई वर्षमा १७ करोड रुपैयाँ असाधारण सहयोग जुटेर चारवटा बस्ती बनेको बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु