गायक श्याम सामसोङ राईले आफ्नो तेस्रो एल्बम ‘मुर्चुङगा–२’ लिएर आएका छन् । एल्बमको अनामनगरस्थित विनायो क्याफेमा एक समारोहबीच बरिष्ठ गीतकार भुपाल राई, संगीतकार तथा प्राज्ञ शान्तिराम राई, महेश खड्कालगायतले सार्बजनिक गरे ।
लामो समयदेखि गीत संगीत साधनामा लिप्त श्यामले घुम्टो खोल मुस्कुराउ बोलको पहिलो गीत २०५७ सालमा साउण्ड लिंक स्टुडियोमा रेकर्ड गराएका थिए । त्यसपछि गायनयात्रा प्रारम्भ गरेका उनले २०६४ मा एकल एल्बम ‘मुर्चुङगा’ ल्याएका थिए । उक्त एल्बमको टाइटल ट्रयाक मुर्चुङगामा रोए म सारंगीमा रेटिए बोलको गीत दर्शक श्रोताबाट धेरै रुचाइएको थियो । त्यस्तै उनी आफ्नो पछिल्लो एल्बम ‘मुर्चुङ्गा–२’ का गीतहरु पनि दर्शक तथा श्रोताले रुचाउनेमा ढुक्क छन् । कार्यक्रममा बोल्दै श्यामले भने, ‘यो एल्बम निकै लामो समयपछि मिहिनेत गरेर ल्याएको हुँ । अवश्य श्रोताले रुचाउ्ँनेछन् भन्ने लाग्छ ।’ यो एल्बम उनले तीन बर्षपछि ल्याएका हुन् ।
यसबाहेक उनले राई बान्तवा भाषामा पारुहाङ निन् सुम्निमा र साकेन्वा मुन्दुम नामक २ वटा गीति एल्बम पनि निकालेका छन् । थोरै गीत तर स्तरीय निकाल्न रुचाउने गायक श्याम बर्तमानमा रेष्टुरेण्ट ब्याबसायी पनि हुन् । उनको बिनायो क्याफे एण्ड रेष्टुरेण्ट नामको फेमिली रेष्टुरेण्ट काठमाडौको मुटु अनामनगर चोकमा सञ्चालनमा छ ।
भोजपुरको तिम्मामा जन्मेर काठमाडौ हुँदै भारतीय राजदुताबासबाट छात्रबृत्ति पाएर भारतको लखनऊस्थित भातखण्डे संगीत बिश्व बिद्यालयबाट संगीत बिषयको गहिरो शिक्षा हापसल गरेका श्याम गीतसंगीतबाहेक पढ्न तथा घुम्न रुचाउँछन् । उनको पिखुवा एन एक्स्पेडिशन नामक पहिलो बृत्तचित्र ३ बर्ष पहिले तयार भएको थियो ।
४ वटा गीतहरु समावेश गरिएको यस एल्बममा विक्रम राईको शब्द संगीतमा पर्दाफास भो गीत रहेको छ भने गायक राईकै शब्द संगीतमा मायाको नाकाबन्दी र ठूली गीत रहेको छ । त्यस्तै गीतकार विपन किरणको शब्दमा महेश खड्काले संगीत दिएको सँगै बाँच्न बोलको गीत रहेको छ । कार्यक्रममा उनले पर्दाबास भो बोलको गीतको भिडियो पनि सार्वजनिक गरेका थिए ।