“बिना संघर्ष चम्किएको एउटा तारा”

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

२०५५ सालमा गायक बन्ने सपना बोकेर राजधानी पस्दै गर्दा राजन ठकुरीका सपना कृष्ण भीरको पहिरोसँगै झण्डै पुरिएका थिए । राजनलाई राजधानीको बाटो समात्न जत्तिको गाह्रो गीत संगीतको बाटो समात्न चाहिँ पटक्कै भएन । २०५५ साल, त्यो समय माओबादीको आन्दोलन चर्किरहेको थियो देशमा । २ दिनसम्म कृष्ण भीरको पहिरोमा थूनिएका ठकुरीले त्यो समय नाकढुङ्गाबाटै हिडेर राजधानी टेकेका हुन् । पहिरो र माओबादी बन्दको दोहोरो मारमा परेका थिए उनका सपना ।
सानै बाट रेडियो नेपाल सुन्दै हुर्केका राजन बाल्यकालबाटै गीत गायनका शौखिन थिए । पढाईमा पनि अब्बल राजन स्कुलका हरेक सांस्कृतिक कार्यक्रमका संयोजक हुन्थें । उनकै नेतृत्वमा स्कुलका कार्यक्रम सम्पन्न हुन्थे । राजनको परिवार पनि निक्कै सांगीतिक थियो । सांगीतिक पारिवारिक पृष्ठभूमिमा हुर्किएका राजवनलाई त्यहि पारिवारिक पृष्ठभूमिले पनि गायनमा थप हौस्याउँदै लग्यो ।

musickhaba_rajan thakuri
गायनका अब्बल राजनले कक्षा ४ पढ्दा ताका नै बासुरी बजाएर प्रथम पुरस्कार पाएका उनले राजधानी छिरेर सुरुमा बाद्यबाधककै रुपमा कामको थालनी गरेका हुन् । उनका बाबु आमाले राजधानी उनलाई पढ्न पठाएका थिए, तर उनी आफूभित्र गायक बन्ने सपना बोकेर राजधानी आएका हुन् । प्रथम श्रेणीमा एसएलसी पास गरेको छोरालाई डाक्टर, इन्जिनीयर नै बनाउन नसके पनि राम्रो विषयमा मास्टर गरोस् भन्ने उनका आमा बुवाको सपना हुनु स्वभाविकै पनि थियो । उनी भन्दा माथिका उनका दाजूहरुले पनि राम्रो पढाई पुरा गर्दै गर्दा उनमा भने कलाकार बन्ने मृगतृष्णा र भोक थियो ।

पढ्नका लागि अस्कल क्याम्पस भर्ना भएका राजनले कलेका कार्यक्रममा पनि गीत गाउन छाडेनन् । कलेजमा पनि उनको स्वरको तारिफ हुन थाल्यो । लोक गायनमा राम्रो र अलग्गै पहिचान बनाएका राजनलाई त्यति बेला आधुनिक गीतको भूत पनि सवार भएको थियो । उनी रामकृष्ण ढकालका गीत खुब फिल दिएर गाउँथे ।
कलेजमा पढ्दै र गीत गाउँदै जाँदा राजन एक दिन बायोलोजि पढाउने गुरुका नजरमा परे । उनी सम्म पहिला देखिनै राजनले राम्रो गाउँछ भन्ने खबर पुगिसेको थियो । बायोलोजिका गुरुले उनलाई गीत गाउँनै सुझाए । उनी सम्झिन्छन् त्यसबेला गरुले भनेका थिए ‘डाक्टर, इन्जिनीयर बन्छु भनेर धेरै आए, गए, तर थोरै मात्रै डाक्टर, इन्जिनीयर भए । तिमी जत्तिको गाउन सक्ने मान्छेले गाउनु पर्छ । तपाई राम्रो डाक्टर इन्जिनीयरभन्दा राम्रो कलाकार बन्न सक्नुहुन्छ ।’ त्यसपछि राजनमा भएको कला मोह झन धेरै गाढा बनेर उर्लियो ।

rajan_thakuri
आईएसीमा राम्रो अंक ल्याएर पास गरेका राजनलाई अब पढाई पनि परिवर्तन गरे । राजधानी आएको केहि समयमै एउटा दोहोरी साँझमा बाद्य बाधकका रुपमा प्रवेश गरे । पछि गायनमा लागे । लाहुरेका छोरा राजनलाई काम गर्नु पर्ने बाध्यता थिएन् । रहरको क्षेत्र भएकाले दोहोरी साँझमा प्रवेश गरेका राजनले केहि समयसम्म आफूले दोहोरीमा गीत गाउँदै गरेको कुरा परिवारमा लुकाए । अहिले राजन आफै दोहोरी साँझ खोलेर थुप्रै कलाकार जन्माउने बाटोमा छन् ।

त्यहि दोहोरी साँझ हुँदै गीत रेकर्डमा क्रममा राजनले धेरैका धेरै खाले कुरा सुन्नु प¥यो । उमेर बढ्दै जाँदा उनको स्वरमा पनि परिवर्तन आयो । पहिलाको सुरिलो स्वरमा केहि धोद्रो पन आएको थियो । हो त्यहि बेला गीत रेकर्ड गर्न खोज्दा राजनलाई धेरैले धोद्रो स्वरले लोक गीत गाएर हुँदैन भनेर निरुत्साहित गरेका थिए । तर, उनले भने हरेस खाएनन् । नारायण रायमाझीका फ्यान राजन उनका गीत खुब गुन्गुनाउथें । धेरैले उनलाई नारायण रायमाझीको फोटोकपी समेत भन्ने गर्थे । पछि उनले गायनमा आफ्नै शैली खोज्न थाले । शास्त्रीय संगीतको अध्ययनलाई पनि अगाडी बढाए ।

rajant
जति बेला राजनले पहिलो पटक एल्वम निकाल्ने सोचेर म्यूजिक कम्पनी धाएथे, धेरैले राजु परियार र पुरुषोत्तम न्यौपानेको जमाना हो भनेर फर्काए । पछि राजनले नारायण रायमाझीलाई आफ्ना ‘सिमसिम पानी र डाँडै माथि जून’बोलका २ गीत गाएर सुनाए । रायमाझीले राजनका दुबै गीत मन पराए । गीत सुनेर त्यतिबेला राजनलाई उनले ‘तिमीलाई यो गीतले स्थापित गराउँछ’ भनेका थिए । राजनले त्यतिबेला रायमाझीका कुरा पनि त्यति पत्याएका थिएनन् । धेरैको खिसिटिउरी सुन्दा सुन्दै दिक्क भएका राजनलाई नारायण रायमाझीले निक्कै हौसला प्रदान गरे । त्यसपछि राजनले एल्वम निकाले । सिमसिम पानी रैछौ बइमानी यहि गीतले राजनलाई लोक गायनका क्षेत्रमा स्थापित गरायो । नेपाली लोकगीत संगीतका स्रोता र गीतसंगीतका क्षेत्रमा काम गर्ने धेरैका नजरमा पर्न सफल भए राजन ठकुरी । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन् । राजन सम्झिन्छन् ‘त्यो बेला मैले नारायण दाईको संगत गरेको थिईन भने म गायक बन्न सक्थे कि सक्दिनथे थाहा छैन् ।’ उनले गीत गाउनकै लागि यो राजधानीमा धेरै पापड पेल्नु परेन । गीतसंगीतमा गरेको लगानी डुबाउनु परेन् । केहि पललाई छाड्ने हो भने राजन संघर्षको त्यो समय एउटा भाग्यमानी गायक थिए र अहिले पनि आफ्नो फरक परिचयका साथ लोकगायनमा जमिरहेछन् । टिकिरहेछन् ।

राधिका अधिकारी/म्यूजिक खबर

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु