बिन्ध्यबासिनी फाउन्डेसन सहयोगार्थ एकल साँझ गर्दै रामकृष्ण

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७३, शुक्रबार

पौष २९ काठमाण्डौ । नेपालको गीत सङ्गीतको बजारमा गायक तथा गायिकाहरुको भिड निकै ठूलो छ । यहि भिडमा चर्चित र सफल भएको एक नाम हो गायक रामकृष्ण ढकाल । गायक ढकालको गायकी सुनेर नरुचाउने, नटोलाउने र नवौलाउने कमै छन् यहाँ । कुनै समय गायक भनेकै रामकृष्ण ढकाल मात्र हो कि भने झैं गरी चम्केका ढकालको लोकप्रियतामा उतीवेला र यतिवेलामा कुनै अन्तर छैन । उतिकै सदाबहार छन्, उतिकै लोकप्रिय छन् । २०४५ सालमा पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ गरेका माधुर्य स्वरका धनि लोकप्रिय गायक ढकालले फेरि ‘रामकृष्ण ढकाल एकल साँझ–२०७३’ गर्ने भएका छन् । बिन्ध्यबासिनी म्युजिक प्रा लि को प्रस्तुतिमा आगामी २०७३ चैत्र १८ गते, तदनुसार मार्च ३१ तारिख २०१७ शुक्रबार आयोजना हुने कार्यक्रममा दर्जनौं गीतहरु सुनाउने छन् । बिन्ध्यबासिनी फाउन्डेशन सहयोगार्थ ‘रामकृष्ण ढकाल एकल साझ –२०७३’ को आयोजना हुन लागेको बिन्ध्यबासिनी म्यूजिकका अध्यक्ष सुवास रेग्मीले जानकारी दिए ।ramkrishna-dhakal

सांगीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बिन्ध्यबासिनी म्यूजिकले यस अघि पनि विभिन्न सांगीतिक व्यक्तित्वको नाममा एकल साँझ गर्दै आएको छ । बिन्ध्यबासिनी म्यूजिकको आयोजनामा भएको ‘सत्य स्वरुप एकल साँझ–२०६९’ कार्यक्रमबाट उठेको पैसा भक्तराज आचार्य संगीत प्रतिस्ठान लाई दिएको थियो । यस्तै ‘बिमल डाँगी एकल साँझ–२०७०’ को सफल आयोजना पश्चात बिन्ध्यबासिनी म्यूजिकले उठेको पैसाबाट डोल्पा र स्याङ्जामा गरेर ४ जना विद्यार्थीहरुलाई छात्रबृतिको सहयोग प्रदान गर्दै आएको छ । यसैगरि बिन्ध्यबासिनी फाउन्डेशनले पछिल्लो समयमा मिर्गौला रोगले पीडित सङ्गीत व्यबसायी एबम् गीतकार शिव प्रशाद पौडेललाई रु तीन लाख दस हजार (३,१००००)सहयोग गरेको थियो । यसै गरी फाउन्डेसनले संगीतकार संघ नेपालले खोलेको संगीतकर्मी सहायता कोशलाई रु.पचास हजार (५०,०००) सहयोग पनि गरेको छ । ‘रामकृष्ण ढकाल एकल साँझ–२०७३’ लाई सफल बनाउन सम्बन्धित सबैसँग सहयोगको अपेक्षा गरिएको बिन्ध्यबासिनी म्यूजिकका सुबास रेग्मीले बताए ।

तीन दशकभन्दा लामो सांगीतिक यात्रा गरिसकेका गायक ढकालले एकदर्जनभन्दा बढी एल्बमहरु पनि बजारमा ल्याइसकेका छन् । केही समयअघि मात्र ‘आवरण’ सार्वजनिक गरेका थिए । स्वर सम्राट नारायण गोपाल पछिको सांगीतिक खाडल पुर्न सक्ने गायकको रुपमा उदाएका ढकालले सांगीतिक जीवनमा धेरै सांगीतिक कार्यक्रमहरुमा प्रस्तुत गर्नुका साथै ढकाल सुमधुर साँझको नामबाट पनि उत्तिकै चर्चा बटुलेका छन् । गायनका माध्यमले आफ्नो उचाइ कायम गर्न सफल ढकालले चलचित्र, आधुनिक, पप, लोक, भजन, गजल, राष्ट्रिय गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । आफ्नै जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र आशिर्वादमा पनि आफूलाई प्रमुख पात्रका रुपमा प्रस्तुत गरिसकेका छन् ढकालले ।ramkrishna

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु