बुद्धिमानले ल्याए ‘चाहियो जागिर हुने’

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७१, शनिबार

शिवकुमार काशी, हेटौँडा, १८ असोज । मकवानपुरका गायक÷सर्जक बुद्धिमान घिसिङको भीसीडी संग्रह ‘चाहियो जागिर हुने’ बिजया दशमीको अबसर पारेर बिमोचन गरिएको छ ।
पश्चिम मकवानपुरको मनहरी ४ सिमपानी निवासी गायक घिसिङले मनहरी बजारमा भब्य कार्यक्रम आयोजना गरी संविधानसभा सदस्य राजाराम स्याङ्तान र बरिष्ठ नृत्य निर्देशक शंकर बिसीको हातबाट भीसीडी संग्रहको विमोचन गरेका हुन् । बिमोचन समारोहको संयोजन मृगतृष्णा कला साहित्य डबलीलले गरेको हो ।
बिमोचन समारोहलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य राजाराम स्याङ्तानले कला संस्कृतिको जगेर्ना गर्नका लागि गायक घिसिङको सक्रियताले ठूलो भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि घिसिङको नयाँ एल्बमहरुको अपेक्षा गर्दै मकवानपुर क्षेत्र नं ४ का सबै कलाकार, साहित्यकार र पत्रकारहरु एक भएर लागेमा सांस्कृतिक क्रान्ति सम्भव हुने बताए ।
बरिष्ठ नृत्य निर्देशक शंकर बीसीले छोटै समयमा गायक घिसिङले गीत संगीत क्षेत्रमा चर्चा बटुलेको भन्दै आगामी दिनहरुमा पनि सहकार्य र सहयात्राको निरन्तरताको कामना गरे । उनले घिसिङसँग पारिवारिक सम्बन्ध रहेको भन्दै मकवानपुरसँग आफ्ना सांगीतिक र पारिवारिक नाता जोडिएको बताए ।
कार्यक्रममा गायक घिसिङले सबै क्षेत्र, तह र तप्काका व्यक्ति, व्यक्तित्वले आफूलाई सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । आर्थिक अबस्था कमजोर भए पनि इच्छाशक्ति भएमा जेजस्तो काम पनि गर्न सकिन्छ भनेर आफूले उदाहरण पेस गरेको घिसिङले बताए । कार्यक्रममा पूर्व सभासद तथा गायक गोविन्दराम चेपाङ, उपन्यासकर रामकुमार एलन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

DSC00778
‘चाहियो जागिर हुने’ भीसीडीमा तीनवटा भिडियो संग्रहित छन् । तीमध्ये अहिले ‘आउने दशैं नि’ बोलको भावुक गीत निकै चर्चित छ । त्यसका अलावा ‘चाहियो जागिर हुने’ र ‘छुट्टीमा घर आको’ बोलका गीतहरुको भिडियो भीसीडीमा संग्रहित छन् ।
बिमोचन कार्यक्रममा गायकहरु रविनकुमार चेपाङ, सुन्दर लामा, प्रिति लामा, अनिता सुवेदी, दृष्टिविहिन गायक तथा संगीतकार इश्वर खड्का लगायतले प्रस्तुति दिएका थिए । मृगतृष्णा कला साहित्य डबलीले आयोजना गरेको कार्यक्रम साहित्यिक रचनाहरु समेत प्रस्तुत गरिएको थियो । मनहरी बजारको मुख्य चोकमै आयोजित कार्यक्रममा सयौं दर्शकहरु थिए ।

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु