बेलायतमा आनन्द कार्की म्यूजिकल नाइट

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७२, बिहीबार

ख्यातिप्राप्त गायक आनन्द कार्की लामो समयदेखि बेलायतको लन्डनमा रहेर आफ्नो सांगीतिक प्रस्तुति दिँदै आइरहेका छन् । बेलायतमा रहेका नेपाली संगीतप्रेमीलाई सांगीतिक मनोरञ्जन प्रदान दिँदै आइरहेका छन् कार्की । गायक कार्कीले ३ महिनादेखि लन्डन बसाईको क्रममा त्यहाँका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रममार्फत् बेलायतमा रहेका नेपालीलाई आफ्नो सांगीतिक प्रस्तुति दिइरहेका छन् ।

आगामी जनवरी २२ तारिख शुक्रबारका दिन लण्डनमा उनको म्यूजिकल नाइट हुने भएको छ । बसाईका क्रममा धेरै सांगीतिक कार्यक्रमहरु गरिसकेका गायक कार्कीले अब भने म्यूजिकल नाइटमार्फत् आफ्नो प्रस्तुति दिने भएका हुन् । हुन त योभन्दा पहिला पनि संगीतकार शिखर सन्तोषका साथमा सांगीतिक प्रस्तुति पस्कन व्यस्त भएका थिए । उनका प्रस्तुतिलाई मन पराएरै होला नेपालीहरुको मागबमोजिम अब फेरी म्यूजिकल नाइटमार्फत् उनी स्रोतासामु उत्रिन लागेका हुन् ।

ananda karki

महिनौंसम्म सिंगापुर, भारतजस्ता देशमा रहेर स्वदेशी तथा विदेशी गीत–संगीतका साथ दुवैखाले दर्शकलाई लोभ्याउने गर्दै आएका गायक कार्कीले लन्डनका कार्यक्रममा आफ्ना नयाँ तथा पुराना हिट नम्बर गीत सुनाएर दर्शकलाई आकर्षित गरिरहेका छन् । खस समाज यूकेको आयोजनामा भएको कार्यक्रममा पनि कार्कीले यी हल्लाहरू हुन् तिमीले सुनेका, कसैसँग मैले मुटु साट्या छैन, लाग्छ मलाई हेरिरहुँ, माया नै माया, तिम्रो पनि मुटु भएजस्ता आफ्ना हिट नम्बरका साथ दर्शक लोभ्याएका हुन् । त्यस्तै संगीतकार शिखर सन्तोषको साथले कार्यक्रममा थप रौनकता थपेको थियो । उनले आफूले संगीत दिएका बाँचुञ्जेलीलाई, पहाडको छुकछुके रेल, मलाई पुगेन पुगेनलगायतका गीत प्रस्तुत गरेर दर्शकलाई आकर्षित गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार दीपक थापा, इन्दु कार्की र श्रेया कार्कीले आफ्ना लोकप्रिय गीत–संगीत तथा नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन दिलाएका थिए । खस समाज यूकेका अध्यक्ष इन्द्र कार्कीको सभापतित्व तथा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुँवरको प्रमुख आतिथ्यतामा विभिन्न नेपाली संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु