बेवारिसे बन्यो संगीत उत्पादक समाजको सम्पत्ति

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७२, शनिबार

समाज डुबाउने गुटलाई प्रतिबन्ध


काठमाडौं । गत २६ असारमा खारेज भएको ‘नेपाल संगीत उत्पादक समाज’ त्यसपछि अलपत्र परेको छ । संगीतको व्यवसाय गर्दै आएकाहरुको उक्त संस्था तोकिएको समयमा नविकरण नगरेपछि खारेजी भएको हो । खारेज भएपछि सम्बन्धित संस्थाको सम्पूर्ण चलअचल सम्पति सरकारले अधिग्रहण गर्नुपर्नेमा त्यसको बेवास्त गरेको भन्दै सम्बन्धित विभिन्न संगीत कम्पनीले शनिबार राजधानीमा पत्रकार भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।
कर्णाली इन्टरट्रेनमेन्टका सञ्चालक पदम बुढा अध्यक्ष रहेको नेपाल संगीत उत्पादक संघको नविकरण २१ चैत २०७१ बाट एक महिनाभित्र दिइएको मितिमा नविकरण गरिएन । थप २५ प्रतिशत जरिवाना तिरेर गत २१ बैशाखबाट ३५ दिनभित्र नविकरण गर्नुपर्ने थियो । तर त्यो मितिमा पनि नविकरण नगरिएपछि खारेज भएको हो । २६ जेठबाट यो संस्था कानूनी रुपमा खारेजी भएबारे पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।
क्लिन भिसिडी, ऋद्धिसिद्धी, पुजा म्युजिक, सुलभ भिडियो, बन्दना म्युजिक, साईराम पिक्चर्स, महाबौद्ध म्युजिक, रियाज म्युजिकसहित विभिन्न ३५ दर्जन म्युजिक कम्पनीका सञ्चालकहरुले नेपाल संगीत उत्पादक संघको चलअचल सम्पत्तिबारे ध्यानकार्षण गराएका छन् । पत्रकार भेटघाटका क्रममा साईराम पिक्चर्सका सञ्चालक शमशेरबहादुर श्रेष्ठले भने, ‘हामीले निकै दुःख गरेर स्थापना गरेको यो संस्था खारेजी हुँदा नेपालका संगीत उत्पादकहरु दुःखी भएका छन् । खातामा लाखौं रुपैयाँ रहेको यो संघको सम्पूर्ण चलअचल सम्पति संघ खारेजी भएको एक महिनामा पनि सरकारले अधिकारण नगरेपछि हामीले सञ्चार माध्यमलाई यो बिषयमा जानकारी गराउनु परेको हो ।’ नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा २१ चैत २०६९मा दर्ता भएको यो संघ खारेजी पछि त्यसको सम्पूण चल अचल सम्बन्धि सोही रजिष्टारको कार्यालयले अधिग्रण गर्नु पर्ने पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो ।

baburam-padam
अहिलेसम्म सो कार्यालयका रजिष्टार बाबुराम गौतमले खारेजी भएको संघको अचअचल सम्पत्ति अधिग्रण नगरेकाले आइतबार गौतमलाई ज्ञापन पत्र बुझाइने बताइएको छ । राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष समेत रहेका पुजा म्युजिक प्रालिका सञ्चालक गोकुल राउतले सञ्चारकर्मीसँग भने,‘तीन दिन अघि एक दैनिक पत्रिकामा आयोजक नखुलाई संगीत उत्पादकहरुको भेला भन्ने सूचना छापेर खारेजी भएको सो संघका पदाधिकारीहरुले नै नाममा केही फेरबदल गरेर त्यस्तै संस्था खोल्न लागेका छन् ।
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको मातहतमा खुलेको सो संघ डुवाउनेहरुलाई रजिष्टारको कार्यालयले कारवाही गर्नुको सट्टा नयाँ संघ खोल्न प्रोत्साहित गरिएको बुझिएको छ ।’ सोही कारण खारेजी भएको संघको चल अचल सम्पत्ति अधिग्रणको लागि आफुहरुले अख्तियारलाई आग्रह गर्ने पनि उनले बताए । संघ डुवाउनेहरुले आफुहरुले स्पष्टिकरण माग्ने र संघका सबै सदस्यलाई वेवास्त गर्दै संघ डुवाउने ती गुटलाई मात्र फेरी अर्को संघ खोल्न नदिने पनि उनले बताए । खारेजी भएको नेपाल संगीत उत्पादक संघ चलाउने बार्षिक रुपमा बजेट समेत दिँदै आएको नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयले संघ खारेजी हुने अवस्थासम्म आइपुग्दा पनि किन अनुगमन गरेन ? भन्ने प्रश्न संघका सदस्यहरुले उठाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु