भदौ ३१ मा अमर विरही एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७४, शनिबार

२४ भाद्र २०७४, काठमाडौं । वरिष्ठ लोक गायक अमर विरही गुरुङले आफ्नो जीवनमा पहिलोपटक एकल साँझ गर्ने भएका छन् । आगामी भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा तमु गुरुङ कलाकार संघको आयोजनामा हुन लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्ने भएका हुन् ।


चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका गायक गुरुङ जीवनमा एकल साँझ सम्पन्न गराउने जिम्मा भने गुरुङ (तमु) कलाकार संघले लिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एकल साँझका बारेमा प्रष्ट पारिएको थियो । गुरुङ (तमु) कलाकार संघको कार्यालय मित्रनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो जीवनको पहिलो र अन्तिम कार्यक्रम भएको घोषणा गरेका थिए । उमेर ६३ वसन्त पुगिसकेका गायक गुरुङ आयोजक संस्थाप्रति आभार प्रकट गर्दै जीवनभर गाइएका गीतबाट छानेर एक दर्जनभन्दा बढी गीत प्रस्तुति गर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार राजन लम्सालले गायक गुरुङले आफ्नो लागि कहिल्यै पनि काम नगरेको बताएका थिए । सधैं अर्काको लागि र संस्थाको लागि भनेर दौडिंदै गर्दा आफ्नो जिन्दगी नै भुलेका गायक अमर विरही गुरुङ अद्वितीय प्रतिभा भएको लम्सालले बताए । गायक गुरुङले योगदान दिएका संस्थाहरु चुप लागिरहेको बेलामा गुरुङ कलाकार संघले आयोजना गर्ने भएको छ, यदि यस संघले पनि नगरेको भए उनको जीवनमा एकल साँझ भन्ने नै नहुने रहेछ, लम्सालले आफ्नो अनुभव पोखे । सधैं लोभलालच त्यागेर संस्थाको हितका लागि हिंडेका गुरुङले लोक गीतको मौलिकता जोगाउने अभियानमा आफूलाई समर्पित गरे, लम्सालले भने– अब प्रतिष्ठान एवं उपत्यका लगायतका समन्वय समितिहरु अमर विरही गुरुङ एकल साँझमा सँगै भएर अगाडि बढ्नेछ ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष राजु गुरुङले गायक गुरुङ आफ्नो समुदायको मात्र नभएर सम्पूर्ण मुलुकबासीको कलाकार भएकाले उहाँको एकल साँझ गर्ने निर्णय गरेको बताए । कुनै जात विशेष भन्दा पनि मुलुकको मौलिक कला संस्कृतिका लागि सदैव लगनशील रहनुभएका कारण अमर विरही गुरुङ एकल साँझ आयोजना गर्न लागेको बताउँदै अध्यक्ष गुरुङले अग्रजको सम्मान गर्ने परम्परामा यो कार्यक्रममा उदाहणीय बन्ने बताए ।


लमजुङको घनपोखरामा जन्मेका अमरले गोरखा दक्षिणबाहु चौथो, विभिन्न उच्च स्तरको राष्ट्रिय अभिनन्दन तथा विभिन्न राष्ट्रिय स्तरको लोक दोहोरि गीतहरुमा प्रथम स्थान हँसिल गरिसकेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्थापक अध्यक्ष हुन् । गायक गुरुङले रेलीमाई, गैरी प¥यो ताल, खोली रसायो, स्याउली पलाइछ, सलल बग्यो गण्डकी, काठमाडौँ सिंह दरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुरति लगाएतका दर्जनौं गीतहरुमा स्वर दिएका छन् भने ५० भन्दा माथि एल्बम प्रकाशनमा ल्याएका छन् ।

‘संस्कृतिकर्मी बाँचे संस्कृति बाँच्छ’ भन्ने मूल नाराका साथ अघि बढेको तमु कलाकार संघले मौलिक कला संस्कृतिको संरक्षण र स्रष्टा सम्मानका लागि अमर विरही गुरुङ एकल साँझ नमूनायोग्य बन्ने बताएको छ । कार्यक्रममा संघका महासचिव गायक गणेश गुरुङले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु