भुकम्प पीडितका लागि भण्डारीको एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७२, बुधबार

काठमाडौं । चर्चित संगीतकार एवम् गायक टीका भण्डारीले भुकम्प पीडितहरुका लागि एकल साँझ गर्दैछन् । भोली विहीबार काठमाडौंको दरबारमार्गस्थित रानी मलमा गायक भण्डारीले आफ्नो जीवनको पाँचौं एकल साँझ गर्न लागेका हुन् । भण्डारी विनाशकारी भुकम्पमा परी पीडित बनेका परिवारहरुको सहयोगार्थ भोली बेलुका ७ बजेबाट रानीमलमा प्रत्यक्ष प्रसारणसहित एकल साँझमा उत्रिएका हुन् । भण्डारीले आफ्ना १६ वटा गीत लाइभ अर्केष्ट्रामा गाउने भएका छन् । ति गीतहरु कुनै स्टुडियोमा गीत रेकर्डका लागि नभई दुई सय भन्दा बढी संगीतका पारखीहरुमाझ गाउने भएका हुन् ।

tika bhandari

नेपाली कला संगम र मित्र माद्यमिक बिद्यालय चाहबिलको आयोजनामा भण्डारीले उक्त एकल साँझ गर्न लागेका हुन् । यसअघि पनि थुप्रै कार्यक्रमहरु सम्पन्न गर्दै आएको संस्था कला संगमका संयोजक सुदर्शन महर्जनका अनुसार संगीतप्रेमी र युवायुवतीको रोजाईमा गायक एवं संगीतकार टीका भण्डारी परेको हुँदा उक्त एकल साँझको आयोजना गर्न लागिएको हो । भुकम्पको समयमा उहाँले पीडितहरुको सहयोगार्थ महत्वपूर्ण कार्यसमेत गर्नु भएकोले हामी सबैको रोजाईमा भण्डारी पर्नु भएको हो, महर्जनले भने ।
संगीतकार टिका भण्डारीले भने यस कार्यक्रमलाई आफ्नो सांगीतिक जीवनको एउटा अर्काे महत्वपूर्ण पलको रुपमा लिएका छन् । गायक टीका भण्डारीले नेपाली संगीतको क्षेत्रमा आधुनिक सुगम संगीत, एल्बम र चलचित्रमा गरी ५ सय भन्दा बढी गीतहरुमा संगीत दिइसकेका छन् भने ४ दर्जन गीतहरु आफैंले गाएका छन् । प्रत्येक वर्ष प्रज्ञा भवनमा आयोजना हुने तिते जिरे गाईजात्रा महोत्सवमा समेत भण्डारीले डेढ दशकदेखि तितो सत्य जिरे खोर्सानी र मेरी बास्सैसँग प्यारोडी गायन मार्फत सहकार्य गर्दै आएका छन् ।

tika bhandaree
भण्डारीले भुकम्प आउनुभन्दा एक हप्ता अघि मात्र आफ्नो संगीतका ७ वटा एल्बम र स्वरमा २ वटा एल्बमगरी आफ्ना संगीतका ९ वटा एल्बम एकसाथ सार्वजनिक गरेका थिए । एउटा अर्काे महत्वपूर्ण क्षणका रुपमा आफ्नो एकल गायनलाई लिएका संगीतकार गायक भण्डारी एकल साँझमा आफ्ना संगीतका ६ वटा आफ्नो गायनका सुगम संगीत ८ वटा गीत र २ वटा आफ्नो संगीतका चलचित्रका सुपरहिट गीत लाईभ गाउनेछन् । कार्यक्रम श्रावण २१ गते साँझ ७ः०० बजे देखि ९ बजेसम्म रानीमहल दरबारमार्गमा आयोजना हुँदैछ । कार्यक्रममा नेपालका चर्चित बाद्यवादकहरुले साथ दिनेछन् ।
कार्यक्रमबाट संकलित रकम एक भुकम्पग्रस्त क्षेत्रमा स्वयम् आयोजक र गायक समेत उपस्थिति भई पीडितहरुलाई वितरण गरिनेछ । यस कार्यक्रमलाई २ वटा टेलिभिजनले समेत लाईभ गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु