भूगोलको सीमाभित्र वर्षिंदैछ रोहितको मन

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७२, शुक्रबार

मन नेपाली, भावना नेपाली अनि बोली नेपाली तर भूगोलले बाँधेको छ रोहितको मनलाई । मनभरिका पीडा र व्यथासँग सधंै पौंठेजोरी खेल्दै नेपालीपनको मन बोकेर भूगोलले छुट्याएको सीमानामा उनका जिन्दगी तड्पिरहेको छ । भुटानमा जन्मिनु उनको गल्ती थिएन तर जन्मिनुलाई नै भूल ठानेर उनलाई शरणार्थीका रुपमा नेपाल पठाइयो । तर उनी शरणार्थी हुनुमा भुगोलको मात्र दोष देखियो । त्यही पीडाभित्र गुम्सिएका भावनाहरुमा गीतकार रोहित सुवेदीले आफूलाई नेपालीपनको मन वर्षासँगै वर्षाएका छन् ।

संगीत सीमा हुँदैन भनिन्छ । नेपाली संगीतमा रमाएका रोहित सुवेदीले धेरै समय नेपालीभाषीका रुपमा भुटानमा जन्मिँदा भोग्नु परेको पीडालाई पनि गीतमार्फत् व्यक्त गरेका छन् । मनभित्रका पीडाहरुलाई उजागर गर्ने, अनुभूतिलाई पस्किएर अरुलाई अनुभूत गराउने काम गीतकार सुवेदीले गीतलाई माध्यम बनाएका छन् । गीतकार सुवेदीको एकल रचनामा तयार भएको गीतिसंग्रह ‘वर्षा’लाई हेर्दा लाग्छ उनको नेपालीपन र नेपाली माटोप्रतिको माया संगीतभित्र भिजेको रहेछ । हरेक उनका शब्दमा देखिन्छ नेपालीत्व । गीतकार सुवेदी यतिबेला अमेरिकामा कार्यरत छन् । अमेरिकाको व्यस्त बसाईभित्र उनका मनमा भावनाहरु वर्षाजस्तै पोखिन सफल भएका छन् ।

rohit subedi_barsha
तिमी पुग्यौं दूर देशमा, नाता टुट्यो जस्ता पीडाभित्रका शब्दहरुले पनि अभिव्यक्तिको माध्यम बनाएको छ । मायापे्रम दुई आत्माको मिलन मात्र हुँदैन, एउटा भूगोल, प्रकृतिसँगको पनि माया प्रेम हुन्छ भन्ने यथार्थ उनका शब्दभित्र देखिन्छ । सारङ्गीको धून, ठोकिदेउन मादल जस्ता गीतले नेपाली कला संस्कृतिको यथार्थतालाई उच्च मूल्यांकन गरेको छ । उनको शब्दमा नेपाली कला रोएको छ अनि नेपाली कला हाँस्नुपर्छ र बाँच्नुपर्छ भन्ने भावना झल्किएको छ । त्यस्तै नचाही नचाही विदाइको हात हल्लाउँदाको अवस्थाभित्र उनको मनको वर्षा वर्षिएको देखिन्छ । एउटा चेलीले माइतीघर छोड्दाको अवस्था कस्तो हुन्छ, आफूले चाहना विपिरीत अर्कैसँग जानुपर्दाको अवस्था कस्तो हुन्छ या दुई आत्माको मिलन हुन नपाउँदाको अवस्था उनका शब्दभित्र कोरिएको छ ।

barsha front
गीतकार सुवेदीको गीत लेखन वास्तवमै नेपालीभूमिप्रतिको माया ममता र कलासंस्कृतिको प्रिय बनेको छ । ८ वटा गीत समावेश भएको गीतिसंग्रह वर्षालाई गंगा सुवेदीले निर्माण गरेकी हुन् । प्रमोद खरेल, महेश खड्का, योगेश बिसी, भरत लामाको संगीत रहेको वर्षा गीतिसंग्रहका गीतहरुमा प्रमोद खरेल, सहिमा श्रेष्ठ, राजेशपायल राई, इन्द्र खड्का, मेलिना राई, मनोजराजको स्वर रहेको छ । एल्बभित्र तिमी पुग्यौ दूर देशमा, ठोकिदेउ न मादल झिकी, सारङ्गीको धून, नाता टुट्यो, जब तिमी टाढा हुन्छ्यौ, नचाही नचाहीजस्ता गीतहरु समावेश भएको वर्षा एल्बमलाई दीक्षा क्रियशनले बजार प्रबद्र्धन गरेको छ । वर्षा एल्बम अमेरिकाको समयअनुसार फेब्रुअरी ६ ताखिर विहान ११ बजे एक कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु