मखमली स्वरकी धनी विन्दु

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

सविता पोखरेल, म्यूजिक खबर
माघ १०, काठमाण्डौ । बाल्यावस्थादेखि नै संगीत भनेपछि भुतुक्कै हुने बानीका कारणले नै अहिले स्थापित गायिकाको परिचय बनाउन सफल भएकी छिन् गायिका बिन्दु परियार । तुलसीपुर नगरपालिका–१५, दाङमा पिता होम बहादुर परियार र माता शान्ता परियारको ४ सन्तानमध्ये दोश्रो सन्तानको रुपमा जन्मिएकी बिन्दु नेपाली संगीतलाई नै जीवनको केन्द्रविन्दु ठान्दछिन् । स्कुलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा, गायन प्रतियोगितामा भाग लिएपछि साथीभाइ र आफन्तहरुले उनको गायकीकलाको प्रशंसा गर्न थाले । त्यसपछि आफू भित्र गायिका बन्ने प्रतिभा देखेर उनी संगीत क्षेत्रमा समर्पित बनिन् ।

तुलसीपुर स्थित ‘शरीरगंगा एफएम’मा आयोजित ‘गायन आइडल’ प्रतियोगितामा प्रथम भएपछि उनको गायकीका लागि टर्निङ प्वाइन्ट बन्यो । गायन आइडलको उपाधि पश्चात उपहार स्वरुप उनले चलचित्र ‘अप्रिल फूल’को ‘तेरो मेरो पिरती भयो कस्तो कस्तो’ बोलको गीतमा आफ्नो मखमली स्वर भर्ने मौका पाइन् । उक्त गीतमा पत्रकार शान्तिप्रियको शब्द र दिपक शर्माको संगीत रहेको छ । यसो त उनलाई गायिका बन्ने खुबी देखेर हौस्याउने साथीहरु र परिवारका सदस्यहरुको प्रंशसालाई बिर्सन नसक्ने बताउँछिन् । त्यो भन्दा बढी अहिलेका व्यस्त युवा संगीतकार दिपक शर्माको साथ सहयोगलाई पनि बिर्सन सक्दिनन् ।

bindu pariyar copy
पश्चिमको तराई दाङकी छोरी बिन्दु सिक्ने थलो एउटै, लक्ष्य एउटै भएका कारण संगीत संयोजक सुदिप सागरसँग बैबाहिक जीवनमा बाँधिएर पहाडि जिल्ला अर्घाखाँचीकी बुहारी बनेकी छिन् । संगीतमा समर्पित भएकी बिन्दुले संगीतकर्मीसँग नै जोडि बाँधिन पाउँदा आफूलाई भाग्यमानी भएको महशुस गर्दछिन् । विगत ४ वर्षदेखि संगीत पाठशालामा चण्डी प्रसाद काफ्लेसँग संगीतको शिक्षा लिइरहेकी बिन्दु यतिबेला आफ्नो एकल एल्बम निकाल्ने सोचमा छिन् । संगीत भनेकै साधना हो भनेर संगीतको परिभाषा गर्ने उनी दैनिक २–३ घण्टा संगीत साधना गर्ने गर्दछिन् । गोजीमा गाँठ भएका तर गलामा कला नभएकाले संगीत क्षेत्रलाई बिगारेकोमा दुखसो पोख्दै उनी भन्छिन् साधना गरेर क्षमतामा निखारता ल्याएपछि मात्र संगीत क्षेत्रमा आइदिए राम्रो हुने थियो ।

यतिबेला उनको प्रसंशा गर्नेहरु मध्ये कसैले अन्जु पन्तको स्वरमा तुलना गर्दछन् भने कसैले सपना श्रीको जस्तो आवाज भन्ने गर्दछन् । तर बिन्दु चाहन्छिन् आफ्नो स्वर अरु चर्चित चलेका गायिकाको जस्तो नभएर आफ्नै जस्तो होस् अनि प्रशंसा गर्नेहरुले भनुन् बिन्दुको स्वर आहा कति राम्रो अनि अन्य भन्दा पृथक । संगीत क्षेत्रमा खासै लामो यात्रा नगर्दै पनि उनले १५० बढी गीतहरुमा स्वर दिइसकेकी छिन् । उनी भन्छिन्– मैले स्वर दिएका गीतहरुमध्ये ‘मलाई छोडेपछि’ले मलाई
चिनाएको हो ।

देशका विभिन्न स्थानमा स्टेज प्रस्तुति दिंदै दर्शक श्रोतासँग एकाकार हुँदै आएकी बिन्दुले भर्खरै छवि ओझाको निर्मित चलचित्र ‘मङ्गलम्’ मा गायक कृष्ण
काफ्लेसँग दिपक शर्माको शब्द संगीतमा ‘पर्ख पर्ख माया’ बोलको गीतमा स्वर दिएकी छिन् । उक्त गीतले नयाँ उत्साह र हौसला थपिएको बताउँदै उनी भन्छिन् ‘मङ्गलम्’को उक्त गीतबाट म निकै नै आशावादी छु । यस गीतले गायिका बिन्दु परियारको परिचयलाई थप मजबुत बनाउनेमा म
ढुक्क छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु