मनोजराजको पहिलो एकल गजल गायन सफलता पूर्वक सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७४, बुधबार

मङ्सिर ६, काठमाडौं । दुई दशकभन्दा बढी समय नेपाली गीत, संगीत क्षेत्रमा बिताएका चर्चित गायक एवं संगीतकार मनोज राजको ‘महफिलमा मनोजराज’ नामक एकल गजल गायन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

लाइभ गजल गायनमा अब्बल मानिएका मनोज राजको मङ्सिर ५ गते पर्न गएको जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा गजलका पारखीहरूले आनन्द अनुभूति गर्न पाएका छन् ।

मधुवन साहित्य परिवार, शब्दघर र मूच्र्छना संगीत एकेडेमीद्धारा सर्वनाम थिएटरमा आयोजित ‘महफिल’ मा गायनको सुरुवात उनले गजलका पिता मानिने मोतीराम भट्ट लिखित सिर्जनामार्फत गरे :

यी सानै उमेरदेखि मन हर्न लागे

यिनै सुन्दरीले जुलुम गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिनको

रिसाएर आँखा पनि तर्न लागे!!!

 

आफ्नै संगीतको पहिलो गजलमै मनोजले माहोल बनाए । उनले त्यसपछि आफ्ना र अन्य स्रष्टाका दर्जनभन्दा बढी गजल गाए ।

आख्यानकार र गजलकार मनु ब्राजाकी लिखित ‘हीरा हुन् कि मोती हुन् आँसुका यी दाना, सागरभन्दा धेरै ठूला मुटुभन्दा साना’ त्यस्तै मीठो थियो । नेपालीमा गजललाई शास्त्रीय रूपमा नभई सरल–सहज रूपमा लेख्नु र गाउनुपर्ने भन्दै उनले आफ्नै रोमान्टिक रचना सुनाए ।

‘रसाएर आँखा झर्‍यो आँसु तिम्रो’ पछि ‘कोसौँ दूरबाट पनि सुगन्धझैँ ल्याउँछ केले हो’, ‘मनमै लाग्यो तीर तिम्रो जालिम नजरले’ लगायत गाए ।

संगीतकार सन्तोष श्रेष्ठ रचित ‘कति खुसी हुन्थेँ होला तिम्लाई आफ्नो मान्छे भन्न पाए’, कपिल अञ्जानको ‘जाँदैन खिएर तिम्रो तस्बिर’, ऋषि बस्ताकोटीको ‘ओखती छ तनको बिरामीलाई’, विजय योजितको ‘शराबीहरूको कहाँ दिल हुनेछ’, पुरुषोत्तम ढुंगेलको ‘हुन्छ मन पागल अक्सर रातिराति’ सुनुन्जेल श्रोताहरू उत्तिकै रमाइरहेका थिए ।

महफिलमा मनोजलाई गायिका कृष्णा शिवाकोटीले साथ दिएकी थिइन् । कृष्णा मनोजकी श्रीमती हुन् । कृष्णाले मनोजकै संगीतका दुइटा गजल गाइन्, ‘बितेछन् सारा रात जिस्किँदाजिस्किँदै’ र ‘आखाँभरि आँसु राखेकी छु’ ।

मनोजराजलाई हार्मोनियममा मीनेन्द्र कुमार, तबलामा कुन्दन शाह, बाँसुरीमा नगेन्द्र राई, अक्टोप्याडमा सबिन गायक, इलेक्ट्रिक गितारमा सञ्जीव सुब्बा र रिदम गितारमा योगेश काजीले साथ दिएका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, गजलकार ज्ञानुवाकर पौडेल, कविरगीतकार दिनेश अधिकारी र गजलकार रवि प्राञ्जलले प्रकट पँगेनी शिव लिखित र मनोजकै संगीतरगायन रहेको ‘मैसाब’ को अडियो सार्वजनिक पनि गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु