मन्त्रीदेखि सांसदसम्मलाई सम्मान, उत्कृष्ट पाँचमा परेकालाई मनोनयनको प्रमाणपत्र

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७३, सोमबार

चैत १४, काठमाण्डौ । पाँचौ रापती म्यूजिक अवार्डले उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेको छ । रापती समाज काठमाडौंको आयोजनामा हुँदै आएको यस अवार्डले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनको प्रमाणपत्र प्रदान गरेको हो । संगीतका बिभिन्न ३२ विधामा मनोनयन सार्वजनिक गर्दै सर्जक कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरु उपस्थित भई प्रमाणपत्र ग्रहण गरेका थिए । अवार्ड कार्यक्रम चैत्र २८ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाँचघर जमलमा आयोजना गरीने समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले जानकारी दिए । उनले कार्यक्रममा बोल्दै अवार्डको नियमअनुसार आवेदन दिएका स्रष्टा र सिर्जनाको मात्र निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हुँदा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाको तुक नभएको बताएका थिए । कुनै यूट्यूबमा धेरै दर्शक वा रेडियो, टेलिभिजनमा धेरै बज्दैमा गीत चर्चित नहुने बताउँदै गुणस्तरीयताको मापनले अवार्ड हुने गरेको अध्यक्ष मजगैंयाले बताए ।

komal_oli
सोही अवसरमा रापती समाजले रापती अञ्चलबाट नेपाल सरकारको विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री र विभिन्न क्षेत्रमा क्रियाशील रही रापतीका लागि योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो ।
सम्मानित हुनेमा सिंचाई मन्त्री दिपक गिरी, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाली कांग्रेसका सांसदद्वय अनिता देबकोटा र बुद्धिराम भण्डारी, नेकपा एमालेका सांसदद्वय युवराज ज्ञवाली र हिराकहादुर के.सी, फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, राप्रपाको केन्द्रीय सदस्य कोमल ओली रहेका छन् । त्यसैगरी समाजले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रा.डा.गोविन्दराज पोखरेल, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर के.सीलाई पनि समाजले सम्मान गरेको थियो ।

govinda madhur
समाजले संगीत विधाका आफ्ना नियमीत सम्मान तथा पुरस्कार अन्तर्गत नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार दोहोरी गायक गायिका गोविन्द मधुर आचार्य र देवकला बस्नेत, रापती सांस्कृतिक सम्मान संगीतकार मथुराप्रसाद श्रेष्ठ, रापती सांस्कृतिक प्रतिभा पुरस्कार नायक पल शाह, रापती सामाजिक सम्मान समाजसेवी गोपाल बस्नेन, लाल समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार गायिका एवं सञ्चारकर्मी कोमल ओली र भिमनन्द स्मृति पुरस्कार डा.कृष्णराज डि.सीलाई प्रदान गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु