मरेँ म पलपल मरेँ : सोनिका

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । गायिका सोनिका लामा यतिखेर चौथो एल्बमको तयारी गर्दैछिन् । उनले एल्बमको नाम ‘सोनिका’ जुराएकी छन्, जुन एल्बमको ‘मरेँ म पलपल मरेँ’ गीतको म्युजिक भिडियासमेत सार्वजनिक गरिसकेकी छन् । यसअघिका आफ्ना एल्बमभन्दा सोनिका’ केही फरक हुने उनको दावी छ । तीन एल्बमसम्म पप तथा आइटम नम्बरका गीत गाएर चर्चामा आएकी सोनिकाले यसपटक गीतमा ‘सेन्टिमेन्ट’ अँगालेकी हुन् । ‘मरेँ म पलपल मरेँ’ त्यसको एक उदाहरण हो ।
‘कति पप र आइटम नम्बर मात्र गाउने भनेर सेन्टिमेन्टल गीत गाएकी हुँ’ ‘जवानीमा लाली चढ्योजस्ता आइटम नम्बर गाएर चर्चामा आएकी सोनिकाले भनिन्, ‘आधुनिक तथा सेन्टिमेन्टल पनि गाउन सक्दोरै’छ भन्ने श्रोतालाई दर्साउन यो गीत गाएकी हुँ ।’ सोनिकाको ‘मरेँ म पलपल मरेँ’ केही साताअघि यु–ट्युबाट रिलिज गरिएको हो । गीत रिलिज गरिएको थोरै समयमै श्रोता÷दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको उनले सुनाइन् ।

sonika lama singer (2)
सोनिकाले गायनमै एक दशक विताइसकेकी छन् । यहाँसम्म आइपुग्दा ‘बेसहारा’ (२०६४), ‘कस्तो यो जीवन’ (२०६७) र ‘सोनिकाको जवानी’ (२०७०) जस्ता एल्बम श्रोतालाई पस्किसकेकी छन् । उनको पहिलो एल्बम ‘बेसहारा’ को ‘बेसहारा भए छ यो जीन्दगी’ बोलको गीत पनि श्रोताले निकै रुचाएका थिए । तैपनि उनी पप गायनतर्फ अग्रसर भइन् । त्यो उनी समयको माग हो भन्छिन् । उनले भनिन्, ‘बजारमा पप तथा लोकआधुनिक गीतको चर्चा थियो । त्यसैले मैले पनि पप र लोकआधुनिक गाएकी हुँ ।’ हुन त त्यो समयमा उनले ‘सेन्टिमेन्टल’ नगाएकी भने होइन । ‘कस्तो यो जीवन’ एल्बममा उनले ‘मैले जितेँ सँगै हुन्थ्यो’ जस्ता गाएकी थिइन् । उक्त गीत पनि श्रोताले नरुचाएको होइन । तर, जब उनी चियर्स इन्टरटेनमेन्टसम्म पुगिन् । त्यसपछि उनले ‘जवानीमा लाली चढ्यो’, ‘सोह्र वर्षे जवानीले लास्टै मातियो’जस्ता आइटम नम्बर गाइन् । यी गीतले उनी रातारात हिट पनि भइन् । ती गीतले नै उनलाई ‘आइटम गायिका’को ट्याग समेत दिलायो । यसैबेला सोनिकाले ‘सेन्टिमेन्ट’ अँगाल्दै ‘मरेँ म पलपल मरेँ’जस्ता गीत गाएकी हुन् । उनी भन्छिन्, ‘यो गीत सुगमसंगीतको एउटा नमुना हो । अबका दिनमा सुगम र आइटम दुवै गाउँदै जानेछु ।’ उनको एल्बमको अर्को पनि सेन्टिमेन्टल गीत रहेको छ, ‘डुबायो मायाले’ । यस गीतको सेमत उनले म्युजिक भिडियो ल्याइसकेकी छन् । नयाँ गीतले आफ्नो सांगीतिक यात्राको उचाइ थपिने उनको विश्वास छ । बैशाख १२ को महाभूकम्पलगत्तै उनले ‘लग्यो सबै खुसीहरु’ बोलको एक भूकम्प गीत पनि गाइन् । महाभुकम्प र त्यसपछि लगातार आएको पराकम्पनका बेला नेपालीको वेदना र पीडालाई समेटेर गीत गाएकी सोनिकाले बताइन् । अर्कातिर उनी राहत र उद्दारमा पनि खटिइन् । ‘सबै नेपालीको पीडा उस्तै हो’ उनले भनिन्, ‘भूकम्पलगत्तै गीत रेकर्डिङ र त्यसको भिडियो बनाएँ । त्यसपछि राहत तथा उद्दारमा लागेँ ।’

sonika lama singer (1) sonika lama singer (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु