‘मलाई लाग्यो संसार उल्टो चल्दैछ’

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७३, बिहीबार

गीतकार रमेश बिजीको ‘एउटा गीतको कथा’
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँकी यहाँ इमान हरायो
मायाले माया नै छलेको देख्छु
गीतकारः रमेश बिजी
संगीतकारः राजेश थापा
गायकः रामकृष्ण ढकाल
संगीत संयोजकः बी.बी. अनुरागी

मैले यो गीत लेख्दा मुलुकभित्रको सामाजिक सपना नै देखेको हुँ । पछिल्लो समय हाम्रो मुलुकको आधा हिस्सा युवा शक्ति विदेश पलायन भएको अवस्था छ । माया प्रेममा बाँधिएर विहे गरेपछि परदेशिएका श्रीमानहरु र स्वदेशमा रहेका श्रीमतीहरुले गरेका हर्कतहरु जुन गर्न नहुने थियो त्यो गरिएको देखिन्छ । अर्को जुन बाबुले छोरीमाथि गर्न नहुने कुकार्य गरिरहेको देखिन्छ । हाम्रो समाजले कल्पना नै गर्न नसक्ने, हुँदै नहुने घटनाहरुले मलाई सधैं नै सपना या विपनामा छटपटाहट बनाइरहन्थ्यो । ती घटनाहरु दिनानुदिन समाचार माध्यममा सुनिन आउँथ्यो, सामाजिक सञ्जालमा पोष्ट गरिन्थे । मलाई लाग्यो अब समाजमा इमान्दारित गुमिसकेछ, जो गर्न नहुने थ्यो त्यो गरिएको देखिरहिएको छ । मलाई लाग्यो संसार अब उल्टो चलिरहेछ भन्ने बुझेँ अनि यो गीत लेख्न सफल भएँ । मलाई पानीमा आगो बलेजस्तो लाग्यो, हुरीमा दियो जलेजस्तो लाग्यो, त्रिशुली उल्टो बगेजस्तो लाग्यो बरु म पागल सम्झुन् सबैले भनेर यो गीत लेखें । गीतको भावमा म आमाले सन्तान ठगेको, प्रेमीले प्रेमिका ठगिएको यो कलियुगमा सिताले रामलाई ठगेकोसमेत देख्न पुगेँ ।

ramesh-bg1

समाजमा नहुनुपर्ने घटनाहरु जो भइरहेका छन् त्यसैले मलाई पागल बनायो र एउटा गीत सिर्जना भएको हो । यो गीतलाई राजेश थापाले संगीत भर्नुभएको छ । संगीत भरेपछि मैले गीतलाई फेसबुकमा पोष्ट गरें, त्यो गीतलाई विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीजीले हेर्नुभएछ र मन पराएर यो गीत म लगानी गर्छु भनेर भन्नुभयो । मेरो सोचमा पनि यो गीत रामकृष्ण ढकाललाई गाउन दिने भन्ने थियो पछि सुबासजीले मलाई भेटेर बीबी अनुरागीको संगीत संयोजनका लागि लैजानु भयो । सुरुमा ‘हुरी’ एल्बमको नाम राखेर काम सुरु गरिएको थियो तर पछि रामकृष्ण ढकालजीले अत्यन्तै मन पराउनु भयो र आफ्नो एल्बम आवरणमा राख्छु भन्नु भयो । म पनि उहाँसँग सहकार्य गर्न अत्यन्तै इच्छुक थिएँ त्यो कामना पूरा भएजस्तो लाग्यो ।

 

ramesh-bg
म लोकदोहोरीमा चलिरहेको एउटा गीतकार थिएँ । लोकमा मलाई जुन उचाइ मिलेको थियो तर आधुनिकमा म पाइला टेकेको पनि थिइनँ । यो मेरो आधुनिकको पहिलो प्रयास थियो जसले सिधै उचाइमा पु¥याइदियो । यही गीतबाट मैले टुबोर्ग इमेज अवार्डमा सर्वोत्कृष्ट गीतकारको अवार्डसमेत चुम्न सफल भएँ । मेरो लोकदोहोरीमा पनि सररर पानी घट्टामादेखि हालसम्मका प्राय गीतले चर्चा पाइरहेँ, अवार्डहरु पनि धेरै नै चुमिसके तर मेरो आधुनिकमा यो पहिलो पाइला थियो । यसमा पनि म सबैतिरबाट ‘राम्रो भएछ’ भन्ने कुराले निकै हर्षित भएको छु ।


त्यसो मैले चलचित्र परदेशीको लागि पनि गीत लेखेँ । चलचित्रहरुमा लेखेका गीतमा परदेशीको गीतले पनि उत्तिकै चर्चा कमाउन सक्यो । जसरी परदेशी चलचित्र हिट हुँदै गयो मेरो सिर्जनाले पनि उत्तिकै सफला प्राप्त ग¥यो भन्ने लागेको छ । भन्थ्यौ आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रुख छ भन्ने गीतले पनि निकै सफलता प्राप्त गरेको थियो । मेरा शब्दहरु आफैंमा गाउँको परिवेश वा कुनै समाजभित्र हुन्छ भन्ने मैले बुझेको छु ।
सुमन बैरागीसँगको कुराकानीमा आधारित
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु