महेन्द्रलाई माया महंगो भयो

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७२, सोमबार

मायाको कुरा गर्दा कोही अभाव भयो भन्छन्, कोही धेरै भयो भन्छन् त कोही थोरै भयो कसैको माया पाइनँ भन्छन् । तर गायक महेन्द्र रायमाझीलाई यतिखेर माया महंगो हुँदै गएको छ । मायाको अर्थ लगाउँदै जाँदा उनले जूनतारा झार्न नसकेको, अन्तै नाता जोड्न नसकेको कारण नै माया महंगो भएको बताएका छन् ।

गायक रायमाझी दोस्रो एल्बम मनोकाङ्क्षा लिएर आएका छन् । यसैहप्ता कवि तथा गीतकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उनले मनोकाङ्क्षालाई सार्वजनिक गरेका छन् । भाइब्स क्रियशनका संचालक परशुराम रिजलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि पत्रकार कृष्ण भट्टराई, गजलकार ललिजन रावललगायतका गीतसंगीत क्षेत्रका हस्तीहरुको हातबाट रायमाझीले मनोकाङ्क्षालाई सार्वजनिक गरेका हुन् । उनको मनोकाङ्क्षालाई उपस्थित सम्पूर्ण अतिथिहरुले सफलताको शुभकामना दिएका थिए । कार्यक्रम कलाकार निरु खड्काले संचालन गरेकी थिइन् ।

nabaraj lamsal

रेडियो नेपाल क्षेत्रीय प्रसारण धनकुटाबाट २०५५ सालमा एउटा लोकगीत रेकर्ड गरी महेन्द्र रायमाझीले सांगीतिक यात्रा सुरु गरेका थिए । तिनै रायमाझी सपनाको शहर काठमाडौं छिरेपछि संगीतका पारखी बन्दै गएका हुन् । संगीतलाई आत्मसात गर्दै जाने क्रममा उनले २०६२ सालमा रेडियो नेपालमा भएको आधुनिक गीत प्रतियोगितामा भाग लिएर उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । त्यो प्रतियोगिताले उनलाई संगीतको बाटोमा प्रेरणा दिएको बताउँछन् ।

manokashya

रेडियो नेपालका अंग्रेजी समाचार संयोजक एवं समाचारवाचकका रुपमा कार्यरत रहँदै आएका महेन्द्रले संगीतको दुनियाँमा रम्दै जाँदा उनले २०६९ सालमा यू एण्ड आइ नामक गीतिसंग्रह बजारमा ल्याए । अडियो मात्र रहेको उक्त एल्बमले उनको मनोकाङ्क्षा पूरा गरेन । मनभित्रका हरेक रहरहरुलाई गुम्स्याउँदै संगीतमा लगाव दिएका महेन्द्रले मनोकाङ्क्षा पूरा गर्नकै लागि सांगीतिक ‘मनोकाङ्क्षा’ बजारमा ल्याएका हुन् । पाँचवटा गीतहरु समावेश रहेको गीतिसंग्रह मनोकाङ्क्षाभित्र ठट्टा नगर मैयाँ, तिमीलाई भुलेर म, राम्री मात्रै हेर्छ यो नजर, भूइँचालो ल्यायो तिम्रो नजरले, नसक्छु म जूनतारा झार्न जस्ता गीत समावेश गरिएको छ । डीपी खनालको एकल शब्द र शंकर थापाको एकल संगीतमा महेन्द्रको एकल स्वर रहेको मनोकाङ्क्षाका दुई गीतको भने म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । आधुनिक, लोकआधुनिक र सेमीपप गीतहरु रहेको मनोकाङ्क्षा गीतिसंग्रहलाई भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको हो ।

mahendra

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु