मार्मिक स्टुडियो औपचारिक रुपमा संचालन

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७४, आईतवार

असार ११, काठमाडौं । गीतसंगीतको रेकर्डिङको दुनियाँमा नेपालमा सयौं स्टुडियोहरु संचालन भइरहेका छन् । सबै स्टुडियोहरुमा भीडभाडका साथ गीत रेकर्डको कार्य भइरहेको हुन्छ, स्टुडियोमा समय निमिल्ने वातावरण अझै पनि गीतसंगीतकर्मीहरुसँग भइरहेको बेलामा सामाखुशीको रेडन पुलछेउमा मार्मिक स्टुडियो संचालनमा आएको छ । गायिका जमुना सनम, संगीतकार एवं एरेन्जर सागर विरही र ध्वनि मुद्रक एवं रेकर्डिष्ट मान बहादुर बरालले संयुक्त रुपमा मार्मिक स्टुडियोलाई संचालनमा ल्याएका हुन् ।

jamuna sanam
विगत लामो समयदेखि गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका यी तीन जना संगीतकर्मीको सहकार्यमा संचालनमा आएको मार्मिक स्टुडियोले संगीतकर्मीहरुलाई छिटो छरितो एवं गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक वसन्त श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर स्टुडियोको उद्घाटन गरेका थिए । मार्मिक स्टुडियोमा दुई वटा रेकर्डिङ स्टुडियो रहेको छ भने मिक्सिङ र एरेन्जको छुट्टै छुट्टै कार्यालय राखिएको छ । सोही फ्ल्याटमा नै संगम फिल्मस् प्रा.लि. पनि सँगै संचालनमा आएको छ । जसमा दीपेन्द्र बालक र बलबहादुर गुरुङको सहकार्य रहेको छ । अबदेखि गीतसंगीत निर्माणदेखि म्यूजिक भिडियोको काम एकै ठाउँबाट हुने भएको छ ।

suresh adhikari
मार्मिक स्टुडियोमा गीतसंगीतको लागि गुणस्तरीयतासँगै सेवामा कमी हुन नदिनका लागि व्यवस्थित रुपमा संचालन गरिँदै आएको संचालक एवं गायिका जमुना सनमले म्यूजिक खबरलाई बताइन् । त्यसैगरी मिक्सिङको कार्यमा पनि कुनै पनि कसुर बाँकी नराखेर गुणस्तरीयता दिने र नियमअनुसार समयमै सेवा प्रदान गर्नेमा आफू लागि पर्ने संचालक मानबहादुर बरालले बताए । गीतसंगीतलाई संगीत संयोजनका साथै स्टुडियोलाई व्यवस्थित, पारदर्शिता र गुणस्तरीयतामा ध्यान दिने कुरामा आफू सदैव तयार रहने संचालक सागर विरहीले म्यूजिकखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु