मालिका केशरीको पुनरुत्थान

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७२, आईतवार

विदुर अधिकारी


साहित्यकार मालिका केशरी पुनरुत्थान नामक उपन्यास मार्फत पुन फर्किएका छन् । लामो समयको अन्तरालमा प्रकाशित उनको उपन्यास पुनरुत्थान परिष्कृत मिडिया ग्रुपले प्रकाशित गरेको हो ।
कुल आठ भागमा बिभाजित पुनरुत्थान जम्मा दुईसय छपन्न पेजमा लेखिएको छ । प्रत्येक खण्डको समाप्ती पछी अर्को खण्डमा के होला भन्ने खुल्दुली दिलाउन सफल पुनरुत्थानमा सरल भाषाशैलीको प्रयोगबाट गहन विषय उजागर गर्ने उनको प्रतिभा अझ यस कृतिमा निखारीएको अनुभब गर्न सकिन्छ ।
पुनरुत्थान, अर्थात मृत्युबाट फेरि जीवित हुने प्रकृया— एक रहस्य, रोमाञ्च, मृत्युमाथि विजय र आशाको कथा हो । थाहा छैन, द्वन्द्व र मृत्युको चपेटाबाट गुज्रेको यो देशले साँचो पुनरुत्थानको अनुभूति गर्न पाउने हो वा होइन । तर अझै पनि कुनै उभारको मार्ग नभेट्टाएको यो समाजलाई साहित्यकार मालिका केशरीले पुनरुत्थानको आशा देखाएका छन् ।

3D View of Purnruthan I
शताव्दियाँैदेखि जरा गाडेर बसेका दमन र विभेदका संयन्त्रहरू अनि तिनका विरुद्धमा दन्केका आन्दोलनहरू । एकातिर राज्य पक्षबाट निहत्था र निर्दोष जनताको हत्या, अर्कोतिर सुराकी गरेको र सामन्त वर्गको दलाली गरेको अभियोगमा तिनै सर्वसाधारणको हत्या । एकातिर समाज र देश रूपान्तरणको निम्ति बोलावट पाएको गहन जिम्मेवारी बोध, अर्कोतर्फ आफ्नो जीवन र इच्छाका मागहरू । यी सबैको विकास र निकास के हुने हो ? पुनरुत्थान यिनै प्रश्नको वरिपरि घुमेको रोचक र हृदयस्पर्शी आख्यान हो ।
औपन्यासिक पात्र र परिवेशहरू हाम्रै घर, गाउँ र समाजका अर्थात् स्वाभाविक र परिचितझैँ लाग्छन् । उथलपुथलका दुई दशक— एक गणतन्त्र स्थापनाको निम्ति अनि अर्कोचाहिँ स्थापना पछिको । अन्याय र अत्याचारको इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गर्दागर्दै वर्तमानको यथार्थ जस्तै कि भर्खरकै प्रलयकारी भूकम्पको त्रासदीलाई पनि नछुटाइकन यति संक्षिप्त आख्यानमा समेट्नु लेखकको सफलता हो । पुनरुत्थान साहित्यको खडेरी परेको नेपाली साहित्य जगतको मरुध्यान्न नै हो भन्दा अतिशयुक्ति नहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु