मीना र कृष्ण उत्कृष्ट गायक गायिका, दीपक र आकाश उत्कृष्ट संगीतकार र गीतकार, बास्कोटालाई लाइफटाइम

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७४, शुक्रबार

असार २३, काठमाडौं । नवौं टेन्सबर्ग डि सिने अवार्ड २०७४ मा मीना निरौला उत्कृष्ट गायिका बन्न सफल भइन् भने गायक कृष्ण काफ्लेले उत्कृष्ट गायकको उपाधि चुम्न सफल भए । निरौलाले लुट २ को ठमेल बजार र काफ्लेले छक्कापञ्जाको देखन चम्पा गीतबाट अवार्ड चुमेका हुन् । अवार्डमा संगीतकार दिपक शर्माले चलचित्र छक्का पञ्जाको देखन चम्पाबाटै उत्कृष्ट संगीतकार बन्न सफल भए भने आकाश अधिकारीले के म तिम्रो होइन र चलचित्रको पागल गीतबाट गीतकारको अवार्ड चुम्न सफल भए ।

dcine-ward2-copy
त्यसैगरी वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई छायाँछवी लाइफटाइम लिजेण्ड्री अवार्डबाट सम्मानित गरियो । चार दशक भन्दा लामो समयसम्म नेपाली चलचित्र एवं गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै लोकप्रिय, सदाबहार एवं चर्चित गीत संगीत दिएर योगदान पु¥याएवापत बास्कोटालाई छायाँछवि क्रियशनले अवार्ड समारोहका बीचमा सम्मान अर्पण गरेको हो । त्यसैगरी तीन दशक लामो समय चलचित्र क्षेत्रमा कलाका माध्यमले योगदान दिएका अभिनेता सरोज खनाल र अभिनेत्री रुपा रानालाई छायाँछवि रजत सम्मान गरिएको थियो । डेढ दशक लामो समयसम्म चलचित्र पत्रकारितालाई आत्मसात गर्दै आएका रंगपत्रकार लक्ष्मण सुवेदीलाई यस वर्षको छायाँछवि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सुवेदीलाई ९ हजार ९ सय ९९ सय रुपैयाँसहित सम्मान गरिएको हो ।

krishna_shambhujeet
हेटौंडाको ओम्याक्स सिनेमा हलमा सम्पन्न भएको नवौं टेन्सबर्ग डि सिने अवार्डको अवसरमा जात्रा चलचित्रबाट विपिन कार्की उत्कृष्ट अभिनेता बन्न सफल भए भने चलचित्र छक्कापञ्जाबाट प्रियंका कार्की उत्कृष्ट अभिनेत्री बन्न सफल भइन् । चलचित्र छक्का पञ्जा उत्कृष्ट चलचित्र बन्दै ९ वटा विधामा अवार्ड चुम्न सफल भयो । चलचित्र छक्कापञ्जाबाट उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान, उत्कृष्ट नवनिर्देशक दीपाश्री निरौला, उत्कृष्ट हाँस्यकलाकार केदार घिमिरे, उत्कृष्ट खलपात्र दिपकराज गिरी, उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज लगायत संगीतकार, गायक, चलचित्र, अभिनेत्री गरी ९ विधामा अवार्ड चुम्न सफल भएको हो ।

laxman-subedi_daily
त्यसैगरी चलचित्र जात्राबाट उत्कृष्ट ध्वनि मिश्रण मनोजराज भण्डारीले चुम्न सफल भए । उत्कृष्ट एनिमेशन मधुकर बलामी (द फेमश), उत्कृष्ट पाश्र्व संगीत शैलेश श्रेष्ठ (गाजलु), उत्कृष्ट केमियो निश्चल बस्नेत (लप्पन छप्पन), उत्कृष्ट द्धन्द्ध निर्देशक हिमाल केसी (निर्भय), उत्कृष्ट बालकलाकार साइब्रत आचार्य (छायाँ), उत्कृष्ट पटकथा र निर्देशक हेमराज बिसी (गाजलु), उत्कृष्ट नवनायिका सृष्टि श्रेष्ठ (गाजलु), उत्कृष्ट नवनायक आर्यन अधिकारी (के म तिम्रो होइन र), उत्कृष्ट चरित्र अभिनेत्री गौरी मल्ल (के म तिम्रो होइनर), उत्कृष्ट चरित्र अभिनेता शिशिर राणा (बीर विक्रम), उत्कृष्ट सहअभिनेत्री सुस्मिता केसी (म त तिम्रै हुँ), उत्कृष्ट सहअभिनेता सुशान्त कार्की (तीन घुम्ती) बन्न सफल भए । त्यसैगरी जुरी अवार्ड चलचित्र तीन घुम्तीले पायो भने इन्करेजमेन्ट अवार्डबाट मिलन चाम्स चलचित्र बीर विक्रम, पब्लिक च्वाइस अवार्ड कालिप्रसाद बास्कोटा, क्रिटिक्स अवार्ड मनोज आरसी, मेनुका प्रधान, प्रदीप भट्टराईले चुम्न सफल भए ।

d-cine-award9-copy

अवार्डमा विक्रम राई, रेश्मा पुन, सहिमा श्रेष्ठ, कृष्ण काफ्ले, भीमफेदी गाइज, सुशान्त कार्की, निर्मल सेन्चुरी, खुश्बु खड्का र सारिका केसीको समूह, मकवानपुर कला केन्द्रको प्रस्तुति रहेको थियो भने जितु नेपालले हाँस्य प्रस्तुतिसहित प्रस्तुत भएका थिए । कार्यक्रम अफिसियल एमसीका रुपमा निराजन भण्डारी र निरु श्रेष्ठले संचालन गरेका थिए । अवार्डका माध्यमबाट पर्यटनको विकासका साथै चलचित्रको बजारलाई फराकिलो बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै आयोजक अध्यक्ष शान्तिप्रियले हेटौंडा चलचित्र उद्योगका लागि एउटा इतिहास बोकेको क्षेत्र भएको कारण अवार्ड गर्नुले सार्थकता पाएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु