मृगौला पीडितलाई सहयोग जुटाउँदै मुना

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक सन्जालमा सबैभन्दा बढी लाईक र कमेन्ट पाउने लोकप्रिय कलाकार मध्येकी एक हुन् गायिका मुना थापा मगर । लोक क्षेत्रकी सबैभन्दा रुचाइएकी लोकप्रिय गायिका मुना यतिबेला समाजसेवी बनेर आफ्नो परिचयलाई अझ फराकिलो बनाउँदै छिन् । स्वच्छ र सहयोगी मनकी गायिका मुना आफ्नो दुःखलाई बिर्सिएर भएपनि अरुको दुःखमा हात्तेमालो गरिरहेकी छिन् । मनकी धनी मुना यत्तिबेला मृर्गौला पीडित टेक प्रसाद रोका मगरको सहयोगार्थमा जुटेकी छिन् । म्याग्दी जिल्ला द्रबांग–७, दिच्याम निवासी रोका मगरको दुबै मृर्गौला फेल भई हाल सुमेरु अस्पताल, धापाखेलमा उपचार गराईरहेका छन् । बिगत १५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतार रहेका उनले कामकै सिलसिलामा दुइटै मृर्गौला गुमाएका थिए । उनको उपचारार्थ गायिका मुना लगायतका सहयोगी मनले अपिल गरेपछि विदेश रहेका सहयोगी हातहरुले सहकार्य गर्न थालेका छन् । अष्ट्रेलिया निवासी गौ पुर्जा मगर र उनका साथीहरुले पठाएको १ लाख ९१ हजार ६ सय रुपैयाँ मुना र महेश गुरुङले बिरामीलाई हस्तान्तरण गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेपछि रोका मगरको उपचारार्थ मुनाले आफ्नो फेसबुक पेजमार्फत सहयोगको लागि अपिल गरेकी छिन् ।

जसमा लेखिएको थियो — ‘धौलागिरी अञ्चल म्याग्दी जिल्ला द्रबाङ गा।बि।स, वडा नम्बर–७ दिच्याम गाउँमा जन्मनु भएका श्री टेकप्रसाद रोकामगर बर्ष ३६को दुबै मृगौलाले काम गर्न छोडेकोले उहाँको बचाउ अभियान देशबिदेशमा गरि रहेको हुदा सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं । बिगत १४,१५ बर्षदेखि कतारको एउटा कम्पनीमा काम गर्दै आउनुभएको उहाँको काम गर्ने सिलसिला दुवै मृर्गौलाले काम गर्न छोडेको थियो । भाग्यको लेखन भनौं वा दुर्भाग्य हामी नेपाली को भाग्यनै यस्तै घरपरिवार लाई खुशीमा राखौंला, बालबच्चालाई राम्रोसँग पढाउँला, धेरै धन कमाउँला भनेर बिदेशको भुमीमा पसिना बगाउनु पर्ने तर पनि मानिसलाई कहाँ हुदोरहेछ र सोचेको जस्तो । बिदेशको भुमीमा काम गर्दागर्दै उहाँ अहिले जीवन र मरणसँग लडदै हुनुहुन्छ । त्यसकारण उहाँको आर्थिक अवस्था कमजोर भएकोले कृपया तपाईंहरुको सहयोगको ठुलो अपेक्षा राख्नु भएको छ । त्यसैले हजुरहरुको सानो सहयोगले उहाँको जीवन बचाउनको लागि सफल हुनेछौं भन्ने पुर्ण आशाका साथ सम्पुर्ण नेपाली साथीभाईहरुमा सहयोगको लागी हात फैलाएका छौं ।’
स्मरणमा ताजै छ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ अभियान नै चलाएर मुना गाउँवस्तीसम्म पुगिन् । दुखद् र विपद्का बेलामा भूकम्पपीडितहरुको घाउमा मल्हम लगाउन सक्रिय उनको कार्यको देशविदेशमा रहेका नेपालीहरुले निकै प्रशंसा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु