मेरो जीवनसँग नै गीत मिलेको छः सञ्जय

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७२, बिहीबार

गायक सञ्जय फ्राउनफेल्डर जन्मँदैमा संसार नदेख्ने बनेका हुन् । पोखरा स्थायी घर भएका सञ्जयको संसार देख्ने सपना छ, तर वास्तविकतामा त्यो नहुँदो रहेछ । उनले केहीसमय अघि मात्रै एउटा लोकगीत गाएका छन् । त्यो गीतका बारेमा धेरैले उनीसँग जिज्ञासा राख्दा भन्ने गर्छन्ः – ‘मेरो जीवनसँग नै गीत मिलेको छ ।’
गायक सञ्जय नेपाली हुन् तर उनी स्वीजरल्याण्डमा बाबुआमासँग बस्दै आएका छन् । उनका दाजु पनि जन्मँदै दृष्टिविहीन बने भने उनी पनि त्यस्तै भए । तर उनको आँखाले देख्ने संसार नभए पनि मनले देख्ने संसार सबैभन्दा ठूलो छ । धर्तीमा जन्मिसकेपछि केही न केही गर्नुपर्छ भन्ने सोचमा सञ्जय छन् । उनी भन्छन्– म आँखा देख्दिनँ तर मेरो मनले संसार देखेको छ । नेपाली गीतसंगीतलाई नजिकबाट माया गर्ने सञ्जयले लोकदोहोरी गीत गाएका छन् अनि आफ्नै जीवनसँग मेल खाने लोकगीत पनि । विदेशमा बसेर नेपालीभूमिप्रति समर्पित रहेका सञ्जयले ‘मत फुल झैँ ओइलिएर’ बोलको लोकदोहोरीबाट गायन यात्रा प्रारम्भ गरे । गायक विरही कार्कीको साथ र समर्थनबाट यो गीत गाउन पुगेका उनले यही गीतबाट म्यूजिक खबर म्यूजिक अवार्ड २०१५ मा उत्कृष्ट लोकदोहोरी नवप्रतिभाको अवार्डसमेत हात पारे । केही समय नेपाल बसाईमा आइपुगेका बेला उनले उक्त गीत रेकर्ड गरेर म्यूजिक भिडियोसहित निर्माण गरेका थिए । उनी स्वीजरल्याण्ड फर्कने बेला आफ्नै जीवनमा आधारित रहेको लोकगीतसमेत गाएर विदेशिएका सञ्जयले गीतको मूल मर्मले छोएको बताउँछन् ।

sanjay frauenfeder

सबै भेटे आ–आफ्नै स्वार्थमा
कोही पाइएन बाँच्नुको अर्थमा
आफ्नो भाग्य आफैं लेख्न पाए
कस्तो होला संसार, कस्तो होला जिन्दगी
एकचोटी तिम्लाई देख्न पाए

एउटा सहाराको जिन्दगी, विकसित भएको संसारलाई बाहिरी आँखाले नियाल्ने सोचमा भौंतारिएका सञ्जयले धर्ती टेक्ने वित्तिकै जिन्दगी नभत्किएको भए पक्कै पनि संसार देख्ने होलान् । आफ्नो भाग्य आफैंले लेख्ने अवसर मिलेको भए जन्मदिने आमाको अनुहार पनि राम्रोसँग हेर्थे होलान् सञ्जयले । त्यो अवसरबाट बञ्चित बनेका सञ्जयको जिन्दगीमा मेल खाने गीत लेखिदिएका थिए गीतकार समुन बैरागीले । पत्रकारितमा कलम चलाउँदै आएका बैरागीले उनलाई नै हेरेर गीत सिर्जना गरेका थिए । त्यही गीतलाई संगीतको गोरेटोमा गायक विरही कार्कीले संगीत भरेका थिए । शब्द र संगीतको संगमलाई गायक सञ्जयको स्वरले सांगीतिक त्रिवेणीमा परिणत ग¥यो । यतिखेर उनी जुन ठाउँमा त्यो गीत गाउँछन् उनलाई हेरेर गीत सुन्नेहरुको आँखा रसाउँछ । मानिसको जिन्दगीमा सबै कुराको पूर्णता हुँदैन एक न एक चिजको अभाव सधैं खड्किन्छ भन्ने कुरा सञ्जयको जीवनबाट पनि प्रष्टिन्छ । उनी अहिले संगीतमा रमाएका छन् तर वास्तविक जीवनको धरातलमा अभावभित्र रुमलिएका पनि छन् ।

afno bhagya- suman
उनको जीवनमा मेल खाने गीतको भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु