आफ्नै देशमा स्वाभिमान बेच्न विवश
एउटा शरणार्थीको भेषमा
नागरिकता नामको परिचयपत्र बोकेर
भिख माग्न आएको जस्तो लाग्छ
म होसमा छु या बेहोसमा
सोच्ने गर्छु म कुन देशको नागरिक हुँ ?
नागरिकता मात्र दिएर नागरिक हो भन्छ
प्रजातन्त्रको नाममा प्रजातन्त्र लुट्छ
मेरो बाँच्ने अधिकारमाथि सधैं अंकुश लगाउँछ
खान छोड … जोगिन्छ भन्दै हुकुम चलाउँछ
मैले बुझाएको करमा कारमा कुद्छ
मेरो पीडामा राज चलाउँछ
निरकुंशता हो या प्रजातन्त्र या नालायक सरकार ?
म सोच्न बाध्य छु, म कुन देशको शरणार्थी हुँ ?
राजनीतिको नाममा बेरोजगार उत्पादन गर्ने
रोजगारीको नाममा मानवलाई विदेशमा बेच्ने
अनि रेमिट्यान्स डकार्ने र डंका पिट्ने
स्वतन्त्रताको संज्ञा दिँदै नागरिकको अधिकार खोस्ने
विकासको नाममा विनाश गर्ने
तिम्रो घिनलाग्दो राजनीतिमा तड्पनु छैन
मर्नु र बाँच्नुको दोसाँधमा रेटिएको जिन्दगी
अर्कैको बन्न पाए हुन्थ्यो लाग्छ
म सोच्न बाध्य छु, किन मेरो देश भनिरहेछु ?
-सुमन बैरागी