यसकारण नेपाल आउँदैछन् बलिउड स्टार अर्जुन कपुर र परिणीती चोपडा….

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७४, आईतवार

मंसिर १७, कैलाली । बलिउड स्टार अर्जुन कपुर र परिणीती चोपडा नेपाल आउने भएका छन् । दिवाकर बनर्जीद्वारा निर्देशित ‘सन्दीप और पिंकी फरार’ चलचित्रको छायांकनका लागि बलिउडका दुई स्टार बैतडीको झुलाघाट आउने भएको जनाइएको छ । बलिउडका चर्चित नायक अर्जुन कपुर र नायिका परिणिती चोपडा बैतडी आउने खबरले त्यहाँको माहोल तातिएको छ । चलचित्रको निर्माण समूहले जिल्ला प्रशासन कार्यालय बैतडीलाई झुलाघाट आउनका लागि अनुमति मागेको बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएपछि यो खबर बाहिर आएको हो ।

निर्माण समूहका लाइन प्रोड्युसर सुमीत ज्ञानचन्दनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई सम्बोधन गरी पठाएको पत्रमा, नेपाल भारतको झुलाघाट सीमानामा रहेको झोलुगे पुलमा छायांकनको अनुमतिका माग गरिएको छ । अर्जुन कपुर र नायिका परिणिती चोपडा बेहुला बेहुली बनेर नेपाल प्रवेश गरेको दृश्य छायांकन गरिने जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाइएको पत्रमा उल्लेख छ ।

पत्रमा उक्त दृष्य चलचित्रका लागि निकै रोचक र मुख्य हुने पनि उल्लेख गरिएको छ । भारततर्फको झुलाघाट पुलमा भने भारत सरकारले अनुमति दिइसकेको पनि पत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले स्थानीय प्रशासनले अनुमति दिन नमिल्ने र आफूले गृह मन्त्रालयलाई त्यसका लागि अनुमति मागेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु