युएईमा भुकम्प पीडितको सहयोगार्थ विशेष सांगितीक कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७२, बिहीबार

दीपेन्द्र घिमिरे, युएइ


भुकम्प पीडित नेपाल र नेपालीको सहयोगार्थ युएईमा विशेष च्यारीटी कार्यक्रम हुने भएको छ । गत वैशाख १२ गते गएको महाभुकम्पमा परि नेपालमा ठुलो जनधनको क्षती भएको छ । भुकम्पबाट भएको क्षती र दुखेको नेपाली मनमा थोरै मल्हम लगाउने उद्देश्यका साथ सहयोग रकम संकलन गर्ने अभिप्रायले उक्त सांगितीक कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भुषालले जानकारी दिएका छन् । युएईमा रहेका सम्पुर्ण नेपाली संघसंस्थाको संयुक्त आयोजना रहने उक्त भव्य कार्यक्रममा उपस्थितीको लागि आयोजकले सम्पुर्ण युएईवासी नेपालीहरुलाई अपिल गरेको छ । आगामी जुन १२ तारिकमा अवुदाविमा हुने उक्त विशेष कार्यक्रममा नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने छ । कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएका कारण यूएईमा क्रियाशील सबै संस्थाहरुलाई २५ वटाका दरले टिकट खरिद गर्न एनआरएन युएई अध्यक्ष भुसालले आग्रह गरेका छन् । महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष शर्माले बताएका छन् ।
कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा उनकी पत्नी मधु भट्टराई हमाल, हास्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, तेरिया मगर, आस्था राउत, गायक तिलक बम मल्ल, ईन्द्र जिसी, सम्झना लामिछाने लगायतका कलाकारको उपस्थित रहने छ । साथै अष्ट्रेलियाबाट गायिका प्रजिता गेलाल र कुवेतबाट गायक बी बी मल्ल ठकुरी पनि आउने भएका छन् ।
च्यारिटीको लागि भनेर अल नादा स्कुल अबु दावी ले हलभाडा पनि निःशुल्क गरिदिएको छ । अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने बताएका कारण कार्यक्रमको खर्च कटौती भई कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने विश्वास आयोजकले गरेका छन् । कार्यक्रमको प्रवेश शुल्क २० दिराम र भिआईपी शुल्क २०० दिराम तोकिएको छ ।

dipendra ghimire

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु