यो न्याय नभएको देश हो : जोशी

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७१, आईतवार

काठमाडौं, २२ भाद्र । हामी न्याय नभएका देशका मान्छे हौं, यहाँको राजनीतिक नेतृत्वले अन्याय गरिरहेको छ त्यसैले यो देशमा न्याय छैन गायक नन्दकृष्ण जोशीले शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै भने । अब देशमा न्याय दिनु छ भने स्रष्टा सर्जक र नागरिक समाजले मात्र दिन सक्छ अरु कसैले पनि न्याय दिन सक्दैन जोशीले गायक प्रकाश रेग्मीद्वारा स्वरबद्ध गीतिसंग्रह सुनामी सार्वजनिकको अवसरमा बोलेका हुन् । कार्यक्रमका सभापतित्वसमेत गरेका गायक जोशीले मुलुकमा सांस्कृतिक नीति तय गर्नुपर्ने आवश्यकता भएको समेत औंल्याएका थिए । सुदूरपश्चि र मध्यपश्चिम जति रुन्छ त्यति अन्य क्षेत्र रुँदैन भन्दै गायक जोशीले शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा बोलाएर धेरै आश्वसन दिएकोसमेत स्मरण गरे । अब मुलुकमा स्रष्टा र द्रष्टा सच्चा छन् आफ्नो न्यायको लागि आफैं दौडनुपर्ने बेला आएको बताए ।
प्रमुख अतिथि गीतकार डा.कृष्णहरि बराल, अतिथिहरु गायक नरेन्द्र प्यासी, संगीतकार बीबी अनुरागी, गीतकार संघका महासचिव विपिन किरणलगायतको हातबाट राजधानीमा शनिबार प्रकाश रेग्मीको गीतिसंग्रह सार्वजनिक गरिएको थियो । सुनामी एल्बममा मुलुकभित्र भएको बाढी पहिरो र विदेशमा गएका सुनामीको असरबाट ग्रसित जनताहरुको यथार्थ चित्रण गरेर गीतकार डा.बरालको शब्दमा गायक प्रकाश रेग्मीले गीत गाएका छन् ।
थिए शीरमाथि हजार दुःख आफ्नै कताबाट फेरि यो सुनामी आयो
लियो ज्यान धेरै पियो बस्ती सारा विना सूचना नै यो बेइमानी आयो

 

कतै मर्नु पर्ने नपाएर पानी, कतै पानीमा नै डुबिएर मनुपर्ने
कतै सास फेर्न पनि छैन हावा, कतै आँधीमा नै उडी मर्नुपर्ने
नसोचेको कहिल्यै, नचाहेको कहिल्यै त्यसै मातिएर यो हरामी आयो
लियो ज्यान धेरै पियो बस्ती सारा विना सूचना नै यो बेइमानी आयो
थिए शीरमाथि हजार दुःख आफ्नै कताबाट फेरि यो सुनामी आयो

 

हामी सन्तती हौं यसै पृथ्वीका, तर बेला बेला किन घात गर्छ
यहाँ हामीले भूल के नै ग¥यौं र, घरी आगो छर्छ घरी पानी छर्छ
नसहेरै हो की यो यात्रा उज्यालो, विथोल्नै अनि यो प्रतिगामी आयो
लियो ज्यान धेरै पियो बस्ती सारा विना सूचना नै यो बेइमानी आयो
थिए शीरमाथि हजार दुःख आफ्नै कताबाट फेरि यो सुनामी आयो

माथिका शब्दहरुमा आपत विपतका वियोगान्त कथालाई डा.बरालले यस गीतिसंग्रहमा यथार्थ समाजको चित्रण गर्न भ्याएका छन् । गायक प्रकाश रेग्मीले यसलाई न्याय गरेर गाएका छन् भने यसलाई बी बी अनुरागीले मिठो संगीत भरेका छन् । कार्यक्रममा बरालले प्रकाश भाइको लागि दिएको यो गीत राम्रो बन्न सफल भएको बताउँदै यो सुनामी यतिखेर संगीत उद्योगमा पनि कहिँ कहिँ आइरहेको अनुभूति भएको बताएका थिए । सुनामी एल्बममाथि संगीतकार सन्तोष श्रेष्ठले समीक्षा गर्दै गीतसंगीत राम्रो सिर्जना भएको बताएका थिए । श्रेष्ठले रेग्मीले ल्याएको सुनामीले अब एकपटक सफलताको सुनामी ल्याउने बताउँदै सफलताको शुभकामना दिएका थिए । त्यस्तै गायक संगीतकार अर्जुन मिलनले प्रकाश रेग्मी प्रिय भाइ भएको बताउँदै राम्रो काम गरेकोमा शुभआशिर्वाद दिएका थिए । कार्यक्रममा सुनामीको भिडियो पनि देखाइएको थियो ।

tsunami_musickhabar (1) tsunami_musickhabar (2)

एल्बममा सुनामी आयो, डोली चढी गएपछि, तिम्रो माया अन्तैतिर, निष्ठुरी त तिमी भयौ, तिम्रो मायाको बस्ती जस्ता पाँच वटा गीत समावेश गरिएको छ । जसमा डा.कृष्णहरी बराल, रमेश पौडेल, शशि शर्मा मजगैंया, टीपी खनाल, खिलप्रकाश श्रेष्ठको शब्द रहेको छ भने तीन गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने शंकर थापा र प्रकाश रेग्मीले एक एक गीतमा संगीत दिएका छन् । सुनामी एल्बमलाई आँचल म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

tsunami_musickhabar (5) tsunami_musickhabar (4) tsunami_musickhabar (3)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु