रजनीपछि शिल्पाको छवि

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७०, शुक्रबार

काठमाडौं, ५ पुस । अभिनेत्री रेखा थापासँग अलग भए पनि निर्माता तथा वितरक छविराज ओझा एक्लो छैनन् । करिब १२ वर्ष लामो रेखासँगको सहकार्य छुटेपछि पनि उनी खुसी नै छन् । किनकि, अहिले छविसँग दुईटी हिरोइन छन् । उनले पछिल्लो समय अभिनेत्रीद्वय रजनी केसी र शिल्पा पोखरेलको ‘करिअर बनाउने’ जिम्मा लिएका छन् ।
रजनीलाई ‘लोफर’ र शिल्पालाई छविले ‘लज्जा’मार्फत डेब्यु गराएका हुन् । १२ वर्षअघि उनले रेखालाई पनि यसरी नै फिल्ममा डेब्यु गराएका हुन् । हुन त रेखापछि केही हिरोइनलाई पनि छविले डेब्यु नगराएका होइनन् तर ती कहाँ पुगे, पत्तो छैन । चलचित्र क्षेत्रमा नयाँ हिरोइन डेब्यु गराउनेको ‘टप पाँच’ भित्र छविको नाम पर्छ ।
निर्माता छविकै प्रतिष्ठाले ‘लोफर नायिका’ रजनी चर्चामा आइन् । तर, उनी अभिनीत ‘लोफर’ सोचेजस्तो सफलता पाएन । चर्चा रेखाको ‘रिप्लेस’ केन्द्रीत थियो तर चलचित्र प्रदर्शनमा आएपछि लज्जास्पद बन्यो । यदि ‘लोफर’ व्यवसायिक रुपमा सफल ठहरिएको भए रजनी चम्किने थिइन् कि । एक किसिमले भन्ने हो भने ‘लोफर’ रजनीका लागि भाग्य परीक्षण थियो ।
यस्तै, अहिले शिल्पाका लागि ‘लज्जा’ भाग्य परीक्षण बनेको छ । ‘लोफर’ सिनेमा हलमा लाग्नअघिसम्म रजनीको चर्चा गरिएजस्तै अहिले शिल्पा मिडियामा छाउन थालेकी छन् । रेखाको ‘रिप्लेस’ बनाए रजनीलाई उचालेजस्तै हिजोआज शिल्पालाई रजनीको ‘रिप्लेस’ भनेर उचाल्न थालिएको छ मिडियामा । तर छविका लागि रजनी र शिल्पा एउटै हुन्, जो रेखाको ‘रिप्लेस’मा आएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु