रनिङ शिल्ड विजेता लामिछानेलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७३, शनिबार

फागुन १९, काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको तेश्रो अन्तर दोहोरीसाँझ स्तरीय रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुन सफल सयपत्री दोहोरी साँझका गायक रविन लामिछानेलाई गोर्खा सांस्कृतिक समाजले सम्मान गरेको छ । राजधानीको विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै समाजले लामिछानेलाई दश हजार एक सय एघार नगद राशिसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मान कार्यक्रममा नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीतकार संघका उपाध्यक्ष प्राज्ञ शान्तिराम राई, नेपाल सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल जोगिन्दर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिकी सचिव राधिका हमाल लगायतका अतिथिहरुको उपस्थितिमा लामिछानेलाई सम्मान गरिएको थियो ।

Rabin_gorkha (2)

समाजका अध्यक्ष दीपसागर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त बधाई एवं सम्मान समारोहमा समाजका वरिष्ठ उपाध्यक्ष सुमन पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै गायक रविन लामिछानेको बारेमा बोलेका थिए । रविन समाजको सक्रिय याद्धा भएको बताउँदै उनको भविश्य उज्ज्वल रहेको बताएका थिए । त्यस्तै सम्मानित भएपछि बोल्दै गायक लामिछानेले दोहोरी प्रतियोगिताको रनिङ शिल्ड जित्दाको अनुभव सुनाएका थिए । रनिङ शिल्डको सुरुवातदेखि अरु कसैले जित्न नसकेको टिमलाई हराउन सफल भएपछि सायद जित्छु होला जस्तो लागेको थियो । निर्णायकहरुले निष्पक्ष रुपमा निर्णय गरेर म र चिनु घर्तीको टिमले जित्न सफल भयौं । सयपत्री दोहोरी साँझबाट हामीले सहभागिता जनाएका थियौं, हामी दुई जनाले नै राम्रोसँग सल्लाह गरेर जसरी पनि जित्नुपर्छ यसपाली हामीले भन्ने सोचेका थियौं । चुनौति पनि थियो र जित्नुपर्ने बाध्यताजस्तो पनि देखियो, सबैतिरबाट हौसला मिलिरहेको थियो । अन्ततः दिदीभाइको कथामा दोहोरी खेल्दा जित्न पुगियो, गायक रविन लामिछानेले प्रतियोगिताका अनुभवहरु सुनाए ।

rabin lamichhane

गोर्खा इतिहासदेखि अहिलेसम्म अगाडि नै रहेको बताउँदै सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठले लोकदोहोरी सम्पूर्ण गीतसंगीतको माता भएको बताएका थिए । त्यस्तै प्रतिष्ठानकी सचिव हमालले गोर्खाले जितेपनि आफूलाई रोल्पाले नै जितेजस्तो लागेको बताउँदै आगामी दिनमा प्रतिष्ठानले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् । त्यस्तै संगीतकार संघका उपाध्यक्ष प्राज्ञ शान्तिराम राईले पूर्वमा पश्चिमको जस्तो दोहोरी नभए पनि सेकेन्डमै उत्तर दिएर प्रतिस्पर्धा खेल्नुपर्ने हुँदा रविन भाइले जित हासिल गरेको चानचुने नभएको बताएका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुले शुभकामना मन्तव्य दिँदै रविन लामिछानेले यस्ता प्रतियोगिताहरु जित्दै इतिहास कायम राख्दै भोलिका दिनमा जित सधैं हातमा लिने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमलाई सपान गर्दै समाजका अध्यक्ष दिपसागर थापाले रविनले जितेको जित अब आगामी दिनमा पनि सदाबहार रुपमा अघि बढोस्, लोकदोहोरीको क्षेत्रमा उल्लेख्य नाम कमाउन सफल होस् भन्दै शुभकामना दिएका थिए । कार्यक्रम समाजका महासचिव सुनिल लामिछानेले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु