रविना र पुकार आईपपमा पहिलोपटक सहभागी नेपाली कलाकार

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७२, बुधबार

भनिन्छ, कलाको कुनै क्षेत्र, भाषा र सीमा हुँदैन । कलाकारिता भनेको विश्वको कुनैपनि कुनामा छरिएर रहेका मानिसहरुलाई पनि आवश्यक पर्छ । हो त्यस्तै नेपाली कलाकारिताको प्रभाव पनि विश्वभर छरिएर रहेका नेपालीहरु माझ छाईरहेको छ । जसरी आफ्नो कलालाई विभिन्न देशमा रहेका नेपालीहरुले प्रस्तुत गर्दै आइरहेका छन् त्यसरी नै प्रतिभाको खोजी गर्ने काम पनि विश्वभर भइरहेको छ ।
यसैक्रममा विश्वव्यापी रुपमा उदयमान प्रतिभाको खोजी कार्यमा जुटिरहेको अमेरिकाको लस एन्जल स्थित ईन्टरनेश्नल प्रिजेन्टेसन अफ पर्फमरस् (आईपप) ले कतारबाट दुई जना नेपाली बाल कलाकारलाई जनवरी २०१६ को प्रतियोगिताका लागी छनौट गरेको छ । आईपपको लामो इतिहासमा नेपालीले पहिलो पटक भाग लिँदैछन । विगत ३ बर्षदेखि परिवारसँग कतार बस्दै आएका झापाकी १४ वर्षीय रविना पोखरेल र ९ वर्षीय पुकार पोखरेलले आईपपको प्रतियोगितामा भाग लिने भएका छन । गत जुनमा आईपपको टिम विश्वव्यापी अडिसनका क्रममा कतार आईपुगेको थियो । कतारमा विभिन्न देशका ५ सय प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनीहरु यहीँ ७ जनवरी २०१६ मा लस एन्जसलमा हुने फाईनल अडिसनमा भाग लिन जाँदैछन् ।

ipop
कतारको पहिलो अडिसनमा छनोट भएपछि अभिनयका लागि रविना पोखरेललाई छानेको थियो । आयोजकको कथावस्तुमा दोश्रो अडिसनमा अभिनय गरेकी रविनालाई अभिनय विद्याका १ सय ५० जना सहभागीमध्ये बाट छनोट गरिएको थियो । त्यस्तै अभिनयका लागि अडिसन दिएका पुकार क्यारिकेचर भ्वाईसमा छनोट भएका छन् । उनीहरु यहीँ २७ डिसेम्बरमा कतारबाट प्रतियोगीतामा भाग लिन अमेरिका जाँदैछन् ।
आईपपले विश्वभरीबाट ४ वटा विद्याका उदयमान प्रतिभाको खोजी गर्दै आएको छ । जनवरीमा हुने फाईनल अडिसनमा विश्वका प्रख्यात कलाकारहरुले निर्णायकको भुमिका खेल्ने आयोजकले बताएको छ । विभिन्न देशबाट छानिएका ५० जना कलाकारहरु फाईनलमा प्रतिष्पर्धा गर्नेछन । आईपपका सिईयो रोन प्याटरसन् र प्रबन्धक मार्क गुर्नवी लगायत ४ जनाको टोलीले कतारको प्लाजा होटलमा अडिसन लिएको थियो । कतारको अडिसनमा कतार लगायत यहाँ बस्दै आएका फिलिपिन्स, जार्डन, लेवनाल, भारत लगायतका ७ देशका कलाकारहरु सहभागी भएका थिए ।

nabin-rama
झापा जिल्लामा जन्मेका रविना पोखरेल र पुकार पोखरेल विगत ३ बर्षदेखि कतारमा परिवारसँग बस्दै आएका छन् । उनीहरु कतारको द क्याम्व्रिज स्कुलमा अध्यनरत छन् । १४ वर्षिय रविना ९ कक्षामा अध्ययनरत छन् भने ९ वर्षिय पुकार कक्षा ४ मा अध्ययन गर्दै छन् । बुबा नविन पोखरेलको कतारमा व्यवसाय भएका कारण उनीहरु कतारमा नै अध्ययन गरिरहेका हुन् । ५ वर्ष पहिला कतार छिरेका नविन कतारका सफल नेपाली व्यवसाय मध्ये एक हुन । आमा रमा अर्याल राष्ट्रियस्तरमा चर्चा बटुल्दै गरेकी गायिका हुन । रमा र नविनको दुई मात्र सन्तान हुन् रविना र पुकार । सानै उमेरबाट कलाकारितामा रुची राख्ने रविना र पुकारलाई आईपपले पहिलो आफ्नो कार्यक्रममा नेपाली प्रतिभा भएको बताएको छ । उनीहरुले विश्वमा नेपाली कलालाई चिनाउने आशा लिएको छ ।

rabina-pukar-holleywood

त्यसैगरी हलिउड सिटी भनेर चिनिने अमेरिकाको लस एन्जलमा रहेको ईन्टरनेश्नल प्रिजेन्टेसन अफ पर्फमरस् (आईपप) ले विश्वमा रहेका ४ विद्यामा उदयमान कलाकारहरुको खोजी कार्य गर्छ । अभिनय, गायन, नृत्य र मोडलिङ्ग विद्याका कलाकारहरुको खोजी कार्यका लागी यूएस, क्यानडा, लेटिन अमेरिका, एसिया, यूके लगायतका देशहरुमा आयोजक टिम पुगेर अडिसन लिने गर्छ । विश्वका नयाँ अनुहारलाई अवसर दिने गर्छ । विभिन्न देशबाट छनोट भएका प्रतिभाहरुलाई लस एन्जलमा ४ दिन तालिम दिएर फाईनलमा प्रस्तुत गरिन्छ । बर्षमा २ पटक विभिन्न देशमा पुगेर अडिसन लिने आईपपले अडिसनबाट छानिएका प्रतियोगीहरुलाई लस एन्जलमा फाईनल अडिसन लिने गर्छ । हरेक जनवरीमा लिईएको अडिसनको जुनमा र जुनमा लिईएको अडिसनको जनवरीमा लस एन्जलमा फाईनल अडिसनको आयोजना हुने गर्छ । फाईनलबाट छानिएका प्रतिभावान कलाकारहरुलाई विभिन्न क्षेत्रमा अवसर समेत दिने गरेको छ । हलिउडका प्रख्यात फिल्म कम्पनी, निर्देशक, निर्माता, विज्ञापन कम्पनी लगायतको क्षेत्रबाट फाईनल अडिसनमा सहभागीता रहने र फाईनलका उत्कृष्ट कलाकारहरुलाई आ–आफ्नो क्षेत्रमा अनुबन्धित गर्ने काम हुन्छ । प्रतिभावान कलाकारहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने काम आईपपको कार्यक्रमले दिलाईरहेको छ । आत्मविश्वासले नै जिवनमा सफलता पाउन र नयाँ अनुभव बटुल्ने मौका मिल्छ । आईपपले भनेको छ ‘आईपप हाईपर ड्राइवमा आफ्नो अनुभवमा विश्वास राख्दछ । एक सुरक्षित र रचनात्मक प्रतिभाको खोजीका लागी विश्वमा रहेको उदयमान प्रतिभालाई समेटदै संसारमा प्रस्तुती गर्नुछ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु