रहरै रहरमा गायिका

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७२, शनिबार

सुमन बैरागी


गायिका रेणु मोक्तान सुमधुर स्वरकी धनी हुन् । उनको स्वरको मिठास कसलाई मन नपर्ला र । सिक्किममा जन्मेकी अनि सिक्कमकै माटोमा हुर्के बढेकी गायिका रेणु मोक्तानको अध्ययन पनि सिक्किमतिर नै भयो । झापा विर्तामोड घर भएकी रेणु सिक्किममा जन्मिएर हुर्के बढे पनि नेपाली सुगन्धमै रमाउने गर्छिन् । नेपाली गीतसंगीतले उनलाई अझै ब्यूँझाइरहेको छ । मनमा नेपाल छ, मुखमा नेपाल छ अनि नेपाली माटोको सुगन्धमा उनको गीतसंगीतले बास गरेको छ । उनी हुर्केको, पढेको ठाउँ सिक्किम भए पनि नेपालीपन र नेपालीमन उनीसँग छ त्यसैले त आफ्नो पुख्र्यौली थलो झापामा नै उनी रमाउने गर्छिन् ।
स्कुलदेखि नै गीत गाउँदै आएकी रेणु मोक्तानको पहिलो संगीत पाठशाला नै रेडियोमा सुन्ने गीत नै हुन् । उनले गायनको सुरुवात गर्दाताका कुनै संगीत शिक्षा थिएन उनीसँग । स्वअध्ययन गरेकी रेणुले स्कुलमा, गाउँमा गाउँदा गाउँदै गायिका बन्ने सपना बुन्न थालिन् । उनीभित्र पनि रेडियोमा बज्ने गीत जस्तै आफ्नै स्वरमा रेकर्ड गराएर एउटा नाम चलेको गायिका बन्ने सपना पलाउन थाल्यो । उनी सिक्किमबाट झापा फर्किएपछि रहरै रहरमा गायिका बन्ने सोच पलायो र एउटा एल्बम निकालिन् पनि । उनले सात वटा गीत रहेको ‘अनुरोध’ एल्बम तयार गरिन् । जसमा उनको एकल स्वर रहेको थियो भने पाँच वटा गीतमा आफैं संगीत पनि भरेकी थिइन् ।

renu moktan singer
अनुरोध यो तिमीलाई मेरो प्रेमको मन्दिर नभत्काइदेउ
अरुकै कुरा सुनेर तिमी मेरो पूजालाई नलत्याइदेउ
पहिलो एल्बम अनुरोधमा समावेश भएको गीत थियो यो । तिलक पाख्रिनको शब्दमा गायिका रेनु मोक्तान पहिलो संगीत एवं स्वर भरेकी थिइ । सेलो, पप, आधुनिक जस्ता सात वटा गीत समावेश गरिएको अनुरोध एल्बममा आनन्द सुब्बा र फुर्बा योञ्जनको पनि संगीत रहेको थियो । ६५ सालतिर अनुरोध एल्बम हाइलाइटस म्यूजिक कम्पनीबाट बजारमा आएको थियो । त्यसपछि उनको रहर केही पूरा भए पनि अझ धेरै सपना मनभित्र रहिरहे । एक दिन नाम चलेको गायिका बन्छु भन्ने अठोटका साथ उनी अगाडि बढिरहिन् ।
सपनाहरु सजाउने क्रममा उनले दोश्रो एल्बममा पनि हात हालिन् । चार जना साथीहरु मिलेर ‘म्यूजिक डायरी’ नामक कलेक्सन एल्बम बजारमा ल्याउन सफल भइन् । जुन एल्बममा उनको दुई वटा गीत रहेको थियो । एल्बममा दिलिप समन, देव न्यौपाने, वसन्त श्रेष्ठ र रेनु मोक्तानको संयुक्त लगानी रहेको थियो । कलेक्सन एल्बम निकाल्ने सोच कसरी आयो त भन्ने प्रसंगमा रेणुले भनिन् – ‘मोरङको एउटा प्रोग्राममा दिलिप समनजीलाई भेट भयो । म त्यतिबेला एल्बम निकालेको गायिका भन्ने उहाँहरुले थाहा पाउनु भएको रहेछ । त्यसपछि उहाँहरुले नै कलेक्सन एल्बम निकालौं भन्ने कुरा भो र समनजीले देव र वसन्त समक्ष यी कुरा गर्नुभयो । अन्ततः हामी चार जना मिलेर एल्बम निकाल्न तयार भयौं ।’
दोश्रो एल्बम निकालेपछि गायिका रेणुले लोकपप गीतहरु दर्जनौं गाइसकेकी छिन् । पछिल्लो समय उनको व्यस्तता प्रोग्रामहरुमा नै हुने गरेको छ । प्राय गरेर इन्डियाका विभिन्न स्थानहरु, सिक्किम, दार्जिलिङ र पूर्वतिरका जिल्ला झापा, मोरङ, सुनसरीमा उनको उपस्थिति बढि हुने गरेको छ । कस्ता गीतहरुमा बढी रुचाउनुहुन्छ भन्ने प्रश्नमा गायिका रेणु भन्छिन् – ‘आधुनिक, तामाङ सेलो, पप आइटम सङ मेरो रुचि भित्र पर्छन् । तर लोक आधुनिक गीतहरुमा नै बढी मेरो लगनशीलता रहेको छ ।’ उनीसँग गायिका भएर प्रोग्राममा हिंड्दाका अनुभव धेरै छन् । दुःख धेरै हुन्छ तर नयाँ नयाँ स्रोताहरुसँगको परिचयले मनमा खुशी छाउने गरेको उनी बताउँछिन् । सोचे अनुसार सबै कुरा हात लाग्दैन तर दर्शक स्रोताको मायाले नै मलाई यो ठाउँमा लागिरहने हौसला मिलेको छ, रणुले भनिन् । कार्यक्रमहरुमा हिंड्दा नयाँ गायक गायिकालाई परिश्रमिक नदिने पनि हुन्छ भन्ने कुरामा भने उनले भनिन् ‘खै आफूले पाइरहेको छु, अरु कसैले त्यस्तो अनुभव संगाल्नु भएको होला । सबै राम्रो हुन्छ भन्ने छैन ।’

renu moktan
उनको पछिल्लो गीत ढुंगालाई देउता सम्झी पनि अहिले उत्तिकै चर्चाको शिखरमा छ । जीवन बमजनको शब्दमा टीका बमजनको संगीत रहेको यस गीतमा उनको स्वरको मिठास जादुमय भएको छ ।

गायिका रेणु गीत लेख्ने र संगीत गर्ने काममा पनि व्यस्त हुन्छिन् । आफैंले लेखेका र संगीत भरेका दर्जनभन्दा बढी गीतहरुले राम्रै चर्चा बटुलेको उनले बताइन् । संगीत क्षेत्र भनेको दुःख सुखभित्रको आरोह अवरोह हो उनले भनिन् । संघर्ष धेरै छ तर प्रतिफल थोरै हुन्छ । यो श्रृंखला सधैं चल्दैन एउटा गायक गायिकाको गीत चर्चाको शिखरमा पुग्यो भने एकाएक जीवनस्तर नै परिवर्तनको बाटोमा लाग्छ, उनले भनिन् । आफूलाई भर्खर कखरा सिक्दै गरेको विद्यार्थीको रुपमा संगीत क्षेत्रमा लिने गायिका रेणुले चण्डी प्रसाद काफ्लेसँग चौथो वर्षसम्म सिकेपछि पछिल्लो समय बलराम राजवंशीलसँग संगीतको शिक्षा लिइरहेकी छिन् । परिवारको सपोर्ट भएकै कारण यो क्षेत्रमा टिकिरहेकी गायिका रेणुले गायनको अलावा मेरी बास्सैमा पनि अभिनय गरेकी छिन् । उनले पाश्र्व गायनमा पनि स्वर दिएकी छिन् । चलचित्र सगुन र बदलामा उनले पाश्र्व स्वर दिएकी छन् भने परिवर्तनशील गीतमा पनि स्वर दिएकी छन् । त्यस्तै प्राय आफ्नो गीतमा आफैं मोडलिङ पनि गर्दै आएकी गायिका रेणुले संगीत क्षेत्रको भविश्य राम्रो देखेकी छन् । निरन्तर यही क्षेत्रमा लाग्ने उनको प्रण छ । उनी भन्छिन् ‘मैले धर्ती छोड्ने दिनसम्म पनि संगीत भने छोड्ने छैन ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु