राष्ट्रपति निवासमा कस्तो सपना

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७१, बिहीबार

काठमाडौं, १२ भाद्र । राष्ट्रपति निवासमा कस्तो सपना गीतिएल्बमको सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति डा.रामवरण यादवको बाहुलीबाट गायक मोहन राईको एकल स्वरबद्ध गीतिसंग्रह कस्तो सपनाको सार्वजनिक गरिएको हो । संविधानसभाको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको विशेष आतिथ्यतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेसका नेता कुलबहादुर गुरुङ र राष्ट्रगानका रचयीता ब्याकुल माइलाको आतिथ्यतामा राष्ट्रपति डा.यादवले कस्तो सपनालाई सार्वजनिक गरेका हुन् ।
नेपाल म्यूजिक क्रियशनको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति यादवको हातबाट नेपाल म्यूजिक क्रियशन राष्ट्रिय संगीत सम्मान २०७१ प्रदान गरिएको थियो । त्यस्तै भारतका सिक्किम राज्यका मुख्यमन्त्री डा.पवन चामलिङलाई राष्ट्रपति यादवको हातबाट नेपाल म्यूजिक क्रियशन राष्ट्रिय संगीत सम्मान २०७१बाट सम्मानित गरिएको थियो । तर डा.पवन चामलिङ भने उपस्थित भएका थिएनन् । त्यस्तै कार्यक्रममा कस्तो सपनाभित्र सहयोग प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेका स्रष्टाहरुलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हातबाट मायाको चिनो प्रदान गरिएको थियो भने गायक मोहन राईले राष्ट्रपति र संविधान सभाध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त अवसरमा राष्ट्रपति डा. रामवरण यादवले गायक मोहन राईको कस्तो सपनालाई शुभआशिर्वाद प्रदान गरेका थिए भने गायक राईले आफ्नो कृतिका बारेमा प्रस्टयाएका थिए । कस्तो सपनाको समीक्षा राष्ट्रगायनका रचयीता ब्याकुल माइलाले गरेका थिए ।
कस्तो सपनाभित्र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका मुख्यमन्त्री डा.पवन चामलिङ, ब्याकुल माइला, प्रहरी अधिकृत नव सिलवाल, संचारकर्मी हेम सुवेदी, बुद्धवीर लामा, राम भट्टराई जस्ता सिद्धहस्त गीतकारको शब्द रचना रहेको छ । बसन्त सापकोटा, सुरेश अधिकारी, पुरन बज्राचार्य, चन्द्रकुमार दोङ, कृष्णभक्त राई, दिनेश सुब्बाको संगीत रहेको कस्तो सपनाभित्र कस्तो सपना, देशले इमान, अरब जाँदैछु, जिन्दगीमा फेरि, मातृभूमि नेपाल, अरुले जे सुकै, शरदको फूलजस्तै जस्ता गीतहरु समावेश गरिएका छन् । गायक मोहन राईको एकल स्वर रहेको कस्तो सपनालाई नेपाल म्यूजिक क्रियशन प्रालिले बजार प्रबद्र्धन गरेको छ ।

11 10 9 8 7 6 5 4 2 1 12

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु