राहत बाँड्दै गरेका पशुपति अब पुननिर्माणमा लाग्ने

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७२, आईतवार

गोरखा । गायक पशुपति शर्मा अमेरिकामा सांगीतिक कार्यक्रममा पुगेका बेला मुलुकमा ठूलो विनाशकारी भुकम्प आयो । वैशाख १२ को विनाशकारी भूकम्प आएपछि अमेरिकाको सबै कार्यक्रम छाडेर नेपाल फर्केका शर्मा यतिखेर राहत लिएर विभिन्न जिल्लाहरुमा दौडिरहेका छन् ।  गायक शर्मा राहत प्रदान गर्न गोरखाको छोप्राक पुगेका शर्माले अब राहतको प्याकेज सँगसँगै पुननिर्माणमा लाग्ने पनि बताएका छन् । शर्माले गायक एवं संगीतकार रमेश भटराईसँगै शर्माले राहत बाँड्न चितवनबाट अभियान नै सुरु गरेका छन् । गायक शर्माले आफू र आफ्नो परिवारको तर्फबाट ५० हजार रुपैयाँ छुट्टाउँदै सहयोगको थालनी चितवनबाट शुरु गरेको बताए ।

शर्मा र भटराईले पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल ईम्फ्क्याटसँग सहकार्य गरि चितवनको दारेचोक गाविसको लामिडाँडाबाट राहत बाँड्न शुरु गरेका थिए । उनीहरुले एकै दिन धादिङ्को सिमलडाडा र गोर्खाको छोप्राक–५ मैदानका गरी क्रमशः २०, ६५ र ४०० गरि ४ सय ८५ जनालाई राहत बाँडेका थिए । सपना भिलेजले भूकम्प पिडित र चेपाङ्गलाई राहत प्रदान गर्ने अभियान शुरु गरेको छ ।

सपना भिलेजसँगको सहकार्यमा उनले छिटै चितवनको विकट पहाडी गाविसहरु र धादिङ्, गोर्खा, दोखला, सिन्धुपाल्चोक र काभ्रेमा पुर्ननिर्माणमा पनि सँगै सहकार्य गर्ने बताएका छन् । त्यसो त शर्माले विभिन्न ठाउँमा राहत संकलन कार्य जारी राखेको समेत बताए । पीडितहरुको उद्धारमा नै आफूलाई व्यस्त गराइरहेका शर्माले अहिले गीतसंगीत सबै बिर्सेर भुकम्प पीडितको उद्धार र राहतमा लाग्नुपर्ने अवस्था भएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु