‘रियालिटी शो’मा नाममा ठगी

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

नवराज पहाडी/लमजुङ, २७ मंसिर । आफ्ना किशोर किशोरीलाई कलाकार बनाउने प्रलोभनमा परी अभिभावक ठगिएको समाचार सार्वजनिक भएको छ । ‘पश्चिमाञ्चल गोल्डेन आइडल’ नामक खुला एकल गायन तथा नृत्य प्रतियोगिताका नाममा सदरमुकाम बेसीशहरमा खुलेआम ठगी भएको हो ।

कलाकार बनाइदिने आश्वासन दिएर आयोजक गोल्डेन स्टार मल्टिमिडिया पोखरामा ठगी गरेको खुलेको छ । ‘कलाकार बन्ने’ सपना बोकेका सहभागीलाई टिकट बेच्न लगाउँने र जसले धेरै टिकट बिक्री गर्छ, उसैको धेरै भोट आउने भन्दै टिकट भिडाउने गरिएको थियो । त्यसरी आयाजकले आश्वासन दिएपछि ‘धेरै भोट पाउने’ आशमा प्रतियोगीले टिकट बेच्न हिड्नुभन्दा घरबाट जनही तीन हजारदेखि १५ हजार रुपैयाँसम्म रकम ल्याएर आयोजकलाई बुझाएको बताइएको छ । सो प्रतियोगिताका एक सहभागीले ‘जति धेरै रकम आयोजकलाई चढाउन सक्यो, उति धेरै भोट आउने’ भएकाले घरबाट रकम मागेर आयोजकलाई बुझाएको कमाण्डर पोष्टलाई बताइन् । उनका अनुसार आयोजकले प्रतिभा भएकालाई भन्दा धेरै रकम बुझाउनेलाई छनोट गरिएको छ ।
त्यस्तै, आफ्नो छोरी प्रतियोगितामा सहभागी हुनलाई जिद्धी गरेपछि बाध्य भएर रकम तिर्नुपरेको बेसीशहरका एक अभिभावकले नाम नभन्ने सर्तमा बताए । लमजुङबाट सो प्रतियोगितमा भाग लिएकामध्ये ५० जनाबाट यसअघि ३० जना छनोट गरिसकेको थियो । त्यस्तै, मंगलबार र बुधबार पनि स्थानीय तमु संग्रहालयको सभाकक्षमा उत्कृष्ठ १० छनोट गरिएको छ । यस सम्बन्धमा आयोजकसँग सम्पर्क गर्दा गोल्डेन स्टार मल्टिमिडियाका शरण गुरुङले आफूले ठगी नगरेको दावी गरे तर उनले कार्यक्रमको खर्च जुटाउनका लागि टिकट बेचेर रकम लिएको कमाण्डर पोष्टसँग बताए । उनले धेरै पैसा दिनेलाई भन्दा प्रतिभावानलाई छनोट गरिएको दावी गरे ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले कार्यक्रम सञ्चालनका लागि आफ्नो कार्यालयसँग कुनै अनुमति नलिएको बताए । उनले यदि प्रतिभाको नाममा ठगी गरेको फेला परेमा कारबाही गर्ने बताए । उनले भने, ‘त्यसका लागि पीडितले उजुरी दिनुपर्छ ।’
उता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गोरखसिंह भण्डारीसँग सम्पर्क गरी गायन र नृत्यका नाउँमा ठगी भएको जानकारी गराउँदा भने, ‘मैले पनि सुनेको त हो, तर हामी कहाँ केही आएको छैन । यो कुरा बढी सिडिओ साहेबकोमा कन्सल्ड हुने हुँदा उतै बुझ्नु होला ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु